जाजरकोट, साउन — हुलाक निर्देशनालय वीरेन्द्रनगर, सुर्खेतको निर्देशन, जिल्ला हुलाक कार्यालय जाजरकोटको पहल तथा विभिन्न सरोकारवाला निकायसँगको समन्वयमा अतिरिक्त हुलाक कार्यालय जगतिपुर परिसरमा रहेको सार्वजनिक जग्गालाई ‘हुलाकी चौतारा’ नामकरण गरिएको छ।
शनिबार आयोजित कार्यक्रममा जिल्ला हुलाक कार्यालय जाजरकोटका निमित्त हुलाक अधिकृत जसीराम के.सी., कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, स्थानीय बासिन्दा तथा आमन्त्रित अतिथिहरूको सहभागितामा उक्त सार्वजनिक स्थललाई औपचारिक रूपमा ‘हुलाकी चौतारा’ नाम दिइएको हो।
कार्यक्रममा बोल्दै निमित्त हुलाक अधिकृत के.सी.ले सार्वजनिक सम्पत्तिको संरक्षण र हुलाक सेवाको प्रवर्द्धनका लागि ‘हुलाकी चौतारा’ महत्वपूर्ण थलो बन्ने विश्वास व्यक्त गरे। चौताराको संरक्षणमा स्थानीय समुदाय र सुरक्षाकर्मीको सक्रिय सहभागिता रहने गरी सहकार्यको वातावरण निर्माण गरिएको उनले बताए।
हुलाक कार्यालयका अनुसार चौतारा नामकरणसँगै सार्वजनिक जग्गाको संरक्षण, सरसफाइ तथा व्यवस्थापनमा स्थानीय समुदायको अपनत्व बढ्ने अपेक्षा गरिएको छ। साथै, यस पहलले परम्परागत हुलाक सेवाप्रति नागरिकको विश्वास अभिवृद्धि गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
जिल्ला हुलाक कार्यालय जाजरकोटले आगामी दिनमा पनि हुलाक सेवाको आधुनिकीकरण, सार्वजनिक सम्पत्तिको संरक्षण तथा समुदायसँगको सहकार्यलाई थप सुदृढ बनाउने जनाएको छ।

