Oda khabar
ट्रेण्डिङ

बालकुमार शर्मा जाजरकोट ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै शक्ति बहादुर बस्नेत ले जाजरकोटको समग्र विकासका लागि प्रारम्भिक प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएका पूर्व मन्त्री बस्नेतले भूकम्पपीडितको आवास पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राख्दै चुनावी एजेन्डा अघि सारेका हुन्।

उनले २०८० सालको भूकम्पबाट प्रभावित प्रत्येक परिवारलाई स्थायी आवास निर्माणका लागि कम्तिमा ५ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने, पहिलो किस्तामै १ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने तथा झन्झटिलो क्षति मूल्यांकन प्रक्रिया हटाई सरलीकरण गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि संशोधन गरी पुनर्निर्माण कार्य तीव्र बनाउने योजना समेत सार्वजनिक गरिएको छ।

गरिबी निवारणका लागि विशेष बहुपक्षीय कार्यक्रम

बस्नेतले गरिब घरधुरीको प्रतिशत उच्च रहेको जुनीचाँदे गाउँपालिका लगायत समग्र जाजरकोटमा गरिबी निवारणका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँगै विकास साझेदार तथा मित्रराष्ट्रहरूको सहकार्यमा विशेष बहुपक्षीय प्याकेजसहितको एकीकृत विकास कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन्।

सडक र पूर्वाधार विकासमा जोड

पूर्वाधार विकासतर्फ उनले लुम्बिनी–रारा राजमार्ग अन्तर्गत जाजरकोट खण्डको बाँकी ट्र्याक खोल्ने र कालोपत्रे सम्पन्न गर्ने योजना अघि सारेका छन्। त्यस्तै, स्थानीय तह केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने, सबै वडा केन्द्रसम्म सडक स्तरोन्नति गर्ने, जाजरकोट–खलंगा–मछाइना–ढुंगेला सडक सुधार गर्ने तथा मोर्क–सानाखोला–चाँदे सडक ट्र्याक खोल्ने योजना रहेको छ।

छेडा–कचाली, धरमपोखरा–देशीपाटा–पञ्चाला–जुनी र पाँचकाटिया–नेटालेक–बारेकोट–जुम्ला सडक स्तरोन्नति लगायतका योजनाहरू पनि प्रतिबद्धता पत्रमा समेटिएका छन्।

५ वर्षभित्र सबै खेतमा सिँचाइ सुविधा

कृषि उत्पादन वृद्धिका लागि पाँच वर्षभित्र जिल्लाका सबै खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने घोषणा गरिएको छ। निर्माणाधीन सिँचाइ आयोजना सम्पन्न गर्ने तथा लिफ्ट र थोपा सिँचाइ प्रणालीलाई वैकल्पिक उपायका रूपमा विस्तार गर्ने उल्लेख गरिएको छ।

ठूला जलविद्युत आयोजनालाई गति

ऊर्जा क्षेत्रमा ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजना, ९८ मेगावाटको डाँडागाउँ–भेरी आयोजना तथा विराखोला–सुवागाड आयोजना निर्माण सुरु गर्ने प्रतिबद्धता गरिएको छ। साथै, निर्माण प्रारम्भ भइसकेको १२० मेगावाटको जगदुल्ला ए जलविद्युत आयोजना र ७ मेगावाट ताक्सुगाड आयोजना छिटो सम्पन्न गर्ने घोषणा गरिएको छ। एक वर्षभित्र दानीपिपल–मैनतडा ४०० केभी प्रशारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य पनि सार्वजनिक गरिएको छ।

सुशासन र डिजिटल पूर्वाधार

“जाजरकोटी अभिमत र शहीदका आकांक्षाको सम्मान: समृद्धिका लागि सामाजिक न्याय र सुशासन” नारासहित सार्वजनिक प्रतिबद्धता पत्रमा जिम्मेवार मिडियाको विकास, सबै स्थानीय तहमा अप्टिकल फाइबर विस्तार तथा आईटी पार्क स्थापना गर्ने योजना पनि उल्लेख गरिएको छ।

संयुक्त रूपमा तयार पारिएको उक्त प्रतिबद्धता पत्रमा समानुपातिक उम्मेदवार कृष्णबहादुर बुढा र पार्वती वि.क. समेत सहभागी रहेका छन्। प्रतिनिधि सभामा विजय हासिल गरेपछि जाजरकोटको विकासलाई नयाँ मोड दिने मार्गचित्रसहित कार्यक्रम अघि बढाइने बस्नेतले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय