Oda khabar
ट्रेण्डिङ

संघर्षले मानिसलाई कहिलेकाहीँ यति बलियो बनाइदिन्छ कि उसले आफ्नै पीडालाई सफलताको आधारशिला बनाउन सक्छ। जाजरकोटका लागि परिचित नाम रामछाँया शाहीको जीवनयात्रा त्यस्तै प्रेरणादायी कथा हो। बाल्यकालमै बुवाको माया गुमाएकी शाहीले अभाव, द्वन्द्व, विस्थापन र अनेक चुनौती पार गर्दै आज राजनीतिसँगै उद्यमशीलताको सफल उदाहरणका रूपमा आफूलाई स्थापित गर्नुभएको छ।

फोटो क्याप्सन : रामछाँया शाहीको अचार बनाउदा को कच्चा पदार्थ तयारी गर्दे गर्दाको अवस्थामा । /

सानै उमेरमा बुवाको निधन भएपछि उहाँले बाल्यकालदेखि नै अभाव र संघर्षको स्वाद चाख्नुभयो। बुवाको माया गुमे पनि जीवनसाथीबाट पाएको साथ, विश्वास र हौसलाले उहाँलाई जीवनका कठिन मोडहरू पार गर्न ठूलो ऊर्जा दियो। संघर्षलाई कमजोरी होइन, शक्ति बनाउने संकल्पका साथ उहाँले जीवनको नयाँ यात्रा अघि बढाउनुभयो।

गाउँमा सामान्य जीवन बिताउँदै आउनुभएकी शाहीले जीविकोपार्जनका लागि होटल व्यवसाय सञ्चालन गर्नुभयो। त्यही क्रममा देश द्वन्द्वको चपेटामा पर्‍यो। द्वन्द्वपीडितका रूपमा उहाँले राज्य र विद्रोही दुवै पक्षबाट शंका र दबाब झेल्नुपर्‍यो। असुरक्षा, त्रास र अनिश्चितताबीच गाउँ छाडेर सदरमुकाम बसाइँ सर्नुपर्ने अवस्था आयो।

तर सदरमुकामको जीवन पनि सहज थिएन। नयाँ ठाउँ, नयाँ परिवेश र आर्थिक अभावसँग जुध्दै उहाँले आफ्नो परिवारलाई सम्हाल्न निरन्तर संघर्ष गर्नुभयो। कठिन परिस्थितिले उहाँलाई झुकाएन, बरु अझ दृढ बनायो।

सामाजिक सेवाप्रतिको रुचिसँगै उहाँ राजनीतिमा सक्रिय हुनुभयो। नेपाली कांग्रेसका विभिन्न भ्रातृ संगठनमा काम गर्दै जिल्ला कार्यसमितिसम्म पुग्नुभएको उहाँ अहिले पार्टीको कर्णाली प्रदेश समितिको सहमहामन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ। राजनीतिक यात्रामा उहाँले कुशे गाउँपालिकाको उपाध्यक्षका रूपमा आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गर्नुभयो।

स्थानीय सरकारमा रहँदा महिला, बालबालिका, शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुभएकी शाहीले पछिल्लो समय अन्तरपार्टी महिला सञ्जालको नेतृत्व पनि सफलतापूर्वक सम्हाल्नुभयो। हालै उहाँले नेतृत्व हस्तान्तरण गर्दै नयाँ पुस्तालाई अवसर दिने संस्कृतिलाई प्रोत्साहन गर्नुभएको छ।

राजनीतिमा सक्रिय रहँदै व्यवसायमा पनि सफल हुन सकिन्छ भन्ने विश्वासका साथ उहाँले अचार उत्पादन व्यवसाय सुरु गर्नुभयो। आफ्नै नामबाट ‘रामछाँयाको अचार’ ब्रान्ड स्थापना गरेर बजारमा ल्याइएको अचारले छोटो समयमै उपभोक्ताको मन जित्न सफल भएको छ।

स्थानीय उत्पादन, परम्परागत स्वाद र अर्गानिक गुणस्तरलाई प्राथमिकता दिएर तयार गरिने अचार अहिले जाजरकोट सदरमुकाममा आउने धेरैको रोजाइ बन्न थालेको छ। बाहिरी जिल्लाबाट आउने आगन्तुकसमेत ‘रामछाँयाको अचार कहाँ पाइन्छ?’ भनेर सोध्ने अवस्था सिर्जना भएको स्थानीय व्यवसायीहरू बताउँछन्।

उहाँका अनुसार बजारमा गुणस्तरीय, स्वस्थकर र अर्गानिक खाद्यवस्तुप्रतिको आकर्षण बढ्दै गएकाले आफ्ना उत्पादनले राम्रो प्रतिक्रिया पाएको हो।

“हामीले घरमै उत्पादन हुने कच्चा पदार्थ प्रयोग गरेर सफा, स्वादिलो र अर्गानिक अचार बनाइरहेका छौं। उपभोक्ताले विश्वास गर्नुभएको छ। बजारमा माग बढ्दै गएको देख्दा अझ उत्साहित भएकी छु,” शाही भन्नुहुन्छ।

उहाँको विचारमा राजनीति केवल भाषण र चुनावमा सीमित हुनुहुँदैन। राजनीतिज्ञले उत्पादन, उद्यम र रोजगारी सिर्जनामा पनि उदाहरण प्रस्तुत गर्नुपर्छ।

“राजनीति गर्ने मानिसले पनि व्यवसाय गर्नुपर्छ। यसले आत्मनिर्भर बनाउँछ र समाजलाई सकारात्मक सन्देश दिन्छ। अरूलाई रोजगारी दिन सकिन्छ भने त्यो सबैभन्दा ठूलो सेवा हो,” उहाँको भनाइ छ।

फोटो क्याप्सन ः अचार उद्योगमा राम छायाँ शाही ।
तस्विर : कल्पना मल्ल/ वडाखवर 

व्यक्तिगत व्यवसायलाई मात्रै सफल बनाउने लक्ष्य नराखी उहाँ अहिले महिलाहरूलाई समूह बनाएर अचार उत्पादनतर्फ प्रेरित गरिरहनुभएको छ। स्थानीय कृषि उत्पादनको सदुपयोग गर्दै महिलाहरूले घरमै बसेर आयआर्जन गर्न सक्ने सम्भावना रहेको उहाँको विश्वास छ।

“हाम्रो गाउँघरमा फलफूल, तरकारी र विभिन्न स्थानीय उत्पादन प्रशस्त छन्। ती खेर जानुभन्दा प्रशोधन गरेर बजारमा पुर्‍याउन सकिन्छ। महिलाहरू समूह बनाएर काम गरे आत्मनिर्भर बन्न धेरै समय लाग्दैन,” उहाँ भन्नुहुन्छ।

उहाँको यो अभियानले जाजरकोटका धेरै महिलामा आत्मनिर्भर बन्ने आत्मविश्वास जगाउन थालेको छ। स्थानीय उत्पादनलाई मूल्यवर्द्धन गरेर बजारसँग जोड्ने अभियानले ग्रामीण अर्थतन्त्रलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

संघर्ष, राजनीति, सामाजिक नेतृत्व र उद्यमशीलतालाई एकैसाथ अघि बढाइरहेकी रामछाँया शाही आज धेरै महिलाका लागि प्रेरणाको स्रोत बन्नुभएको छ। अभावबाट सुरु भएको जीवनयात्रा अहिले सफलताको मिठो स्वादमा रूपान्तरण भएको छ।

‘रामछाँयाको अचार’ केवल एउटा ब्रान्ड मात्र होइन, संघर्ष, आत्मविश्वास, परिश्रम र आत्मनिर्भरताको प्रतीक बनेको छ। जाजरकोटमा उत्पादन भएको अर्गानिक स्वादलाई राष्ट्रिय बजारसम्म पुर्‍याउने लक्ष्यका साथ उहाँ निरन्तर अघि बढिरहनुभएको छ। उहाँको विश्वास छ— स्थानीय उत्पादनको सम्मान र महिला उद्यमशीलताको विकासले मात्र गाउँको समृद्धिको आधार तयार हुन्छ।

संघर्षबाट सफल उद्यमसम्म : ‘रामछाँयाको अचार’ जाजरकोटको चिनारी बन्दै

राजनीतिमा सक्रिय रहँदै उद्यमशीलताको नयाँ उदाहरण प्रस्तुत गर्नुभएकी जाजरकोटका रामछाँया शाहीको ‘रामछाँयाको अचार’ अहिले जिल्लाको लोकप्रिय ब्रान्ड बन्दै गएको छ। स्थानीय उत्पादन, अर्गानिक स्वाद र महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ सुरु भएको यो यात्रा अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।

रामछाँयाको अचारको कथा २०८२ सालको भदौबाट सुरु हुन्छ। व्यवसाय सुरु गर्नुअघि उहाँ अचार बनाउने सीप सिक्न काठमाडौँ पुग्नुभयो। औपचारिक तालिमभन्दा पनि व्यवहारिक सिकाइलाई प्राथमिकता दिँदै उहाँले अचार उत्पादन केन्द्रमै लगातार तीन–चार दिनसम्म अरूले अचार बनाउने सम्पूर्ण प्रक्रिया नियाल्नुभयो। मसला मिलाउने तरिका, सरसफाइ, संरक्षण विधि र गुणस्तर कायम गर्ने उपाय ध्यानपूर्वक सिकेपछि मात्र आफू तयार भएको महसुस गर्दै जाजरकोट फर्किनुभयो।

जिल्ला फर्किएलगत्तै उहाँले आफूले सिकेको ज्ञान आफ्नै लागि मात्र सीमित राख्नुभएन। १५ जना महिलालाई अचार बनाउने तालिम दिँदै उनीहरूलाई पनि उत्पादनमा सहभागी गराउनुभयो। सुरुवाती चरणमा छिमेकी तथा आफन्त गरी ६ जना महिलाले उहाँसँग हातेमालो गरे।

सुरुको जोश, मेहनत र एकताले व्यवसायले अपेक्षाभन्दा राम्रो सफलता पायो। व्यवसाय सुरु भएको पहिलो महिनामै करिब ६ देखि ७ लाख रुपैयाँसम्मको कारोबार भएपछि टोलीको उत्साह झन् बढ्यो। आम्दानी सबै सदस्यबीच समान रूपमा बाँडियो। त्यस सफलताले स्थानीय महिलाले पनि सामूहिक रूपमा काम गर्दा राम्रो आम्दानी गर्न सक्ने सन्देश दिएको थियो।

पछि चाडपर्व, व्यक्तिगत जिम्मेवारी र आ–आफ्नो कामको व्यस्तताले प्रारम्भिक टोली केही खुम्चिए पनि रामछाँया शाही भने आफ्नो लक्ष्यबाट पछि हट्नुभएन। उहाँले व्यवसायलाई थप व्यवस्थित बनाउन औपचारिक रूपमा ‘रामछाँयाको अचार’ फर्म दर्ता गरी व्यावसायिक उत्पादनलाई निरन्तरता दिनुभयो।

अहिले उहाँ जाजरकोट खलंगा बजारस्थित माथिल्लो थाप्ले परिसरमा रहेको आफ्नै निवासबाट विभिन्न परिकारका अर्गानिक अचार उत्पादन तथा बिक्री गर्दै आउनुभएको छ। विशेषगरी टिमुरको छोपलसुनको अचार उपभोक्तामाझ अत्यधिक लोकप्रिय बनेका छन्। जिल्लाबाहिरबाट आउने आगन्तुकले समेत ‘रामछाँयाको अचार’ खोज्ने क्रम बढ्दै गएको उहाँ बताउनुहुन्छ।

“गुणस्तरमा कहिल्यै सम्झौता गरेकी छैन। स्थानीय उत्पादन प्रयोग गरेर सफा, स्वादिलो र अर्गानिक अचार बनाउँछु। उपभोक्ताको विश्वास नै मेरो सबैभन्दा ठूलो पूँजी हो,” शाही भन्नुहुन्छ।

उहाँका अनुसार अहिले अचारले आफ्नै ब्रान्ड पहिचान बनाइसकेको छ। बजारबाट प्राप्त सकारात्मक प्रतिक्रियाले अझ राम्रो उत्पादन गर्न थप हौसला मिलेको उहाँको भनाइ छ। आगामी दिनमा उत्पादन बढाउँदै जाजरकोटका स्थानीय कृषि उपजलाई राष्ट्रिय बजारसम्म पुर्‍याउने लक्ष्य पनि उहाँले लिनुभएको छ।

राजनीतिमा लामो समय सक्रिय रहनुभएकी शाही व्यवसायलाई आत्मनिर्भरताको माध्यम मात्र नभई सामाजिक अभियानका रूपमा पनि हेर्नुहुन्छ। उहाँका अनुसार महिलाले स्थानीय स्रोत र सीपको सदुपयोग गरेर आयआर्जन गर्न सके परिवारसँगै गाउँको अर्थतन्त्र पनि बलियो बन्न सक्छ।

संघर्षपूर्ण जीवनयात्राबाट उद्यमशीलताको सफल मोडमा आइपुगेकी रामछाँया शाहीको ‘रामछाँयाको अचार’ आज केवल एउटा खाद्य ब्रान्ड मात्र होइन, परिश्रम, आत्मविश्वास, महिला सशक्तीकरण र स्थानीय उत्पादनको सफल उदाहरणका रूपमा स्थापित हुँदै गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय