Oda khabar
ट्रेण्डिङ

जाजरकोट, ६ साउन। पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटको आयोजनामा जिल्लास्थित नागरिक समाजका अगुवा तथा सरोकारवालाहरूको तीनदिने नागरिक सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले नागरिक समाजको भूमिका थप प्रभावकारी बनाउँदै स्थानीय तहमा सुशासन, सार्वजनिक उत्तरदायित्व र नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित आगामी साउन र भदौ महिनाभित्र चार स्थानीय तहमा नागरिक सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ।

सम्मेलनमा सहभागीहरूले नागरिक समाजले विगतदेखि विभिन्न सार्वजनिक सरोकारका विषयमा खबरदारी गर्दै आएको भए पनि पछिल्लो समय सर्वसाधारणका समस्या उजागर गर्न अपेक्षाकृत कमजोर भएको महसुस गरिएको निष्कर्ष निकालेका छन्। यही अवस्थालाई सुधार गर्दै नागरिक समाजलाई पुनः सक्रिय, संगठित र प्रभावकारी बनाउने उद्देश्यले जिल्लाभर नागरिक सम्मेलन सञ्चालन गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।

तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा स्थानीय सरकार सञ्चालन ऐन, स्थानीय तहको कार्य सञ्चालन प्रक्रिया, योजना तर्जुमा तथा कार्यान्वयन, बजेट निर्माण, नागरिक सहभागिता, सामाजिक उत्तरदायित्व तथा स्थानीय तहमा हुने विकास निर्माणका गतिविधिबारे विस्तृत छलफल गरिएको थियो। विशेषगरी स्थानीय तहमा योजना छनोटका सात चरण र नागरिक समाजको निगरानी तथा पैरवी भूमिकाबारे सहभागीबीच अन्तरक्रियात्मक छलफल भएको थियो।

सम्मेलनले आगामी कार्यक्रमको कार्यतालिका समेत सार्वजनिक गरेको छ। तय गरिएको तालिकाअनुसार भेरी नगरपालिकामा साउन २१ गते, शिवालय गाउँपालिकामा भदौ ९ गते, छेडागाड नगरपालिकाको झाप्रामा भदौ २२ गते तथा नलगाड नगरपालिकामा भदौ २६ गते नागरिक सम्मेलन आयोजना गरिनेछ। नागरिक समाजमा आबद्ध हुन चाहने तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा योगदान गर्न इच्छुक सबै नागरिकलाई उक्त सम्मेलनमा सहभागी हुन आयोजकले आह्वान गरेको छ।

सम्मेलनबाट स्थानीय तहमा बालमैत्री सेवाको नक्साङ्कन गर्ने, नागरिक समाजको आचारसंहिता तथा पैरवी योजना निर्माण गर्ने, बालकल्याण सम्बन्धी पैरवीलाई निरन्तरता दिने, समन्वय र सहकार्यलाई सुदृढ बनाउने तथा प्रमाणमा आधारित नीतिगत पैरवीलाई प्रभावकारी रूपमा अघि बढाउने साझा सार्वजनिक प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

सम्मेलनमा जिल्लाका विभिन्न क्षेत्रबाट आएका ३४ जना नागरिक समाजका प्रतिनिधिहरू सहभागी भएका थिए। सहभागीहरूबीच निरन्तर समन्वय, सूचना आदान–प्रदान तथा साझा अभियान सञ्चालनका लागि ह्वाट्सएप समूहसमेत गठन गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार आगामी नागरिक सम्मेलनहरूले स्थानीय तहमा नागरिक समाजको सक्रियता बढाउँदै सुशासन, पारदर्शिता, उत्तरदायित्व र नागरिक अधिकार संरक्षणका विषयमा प्रभावकारी खबरदारी गर्ने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय