बालकुमार शर्मा जाजरकोट, साउन १४– जाजरकोटमा भूमि समस्या समाधान आयोगले पहिलो पटक अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु गरेको छ। भेरी नगरपालिका–३ मा आयोजित एक विशेष कार्यक्रममा थाप्ले, स्याला लगायतका क्षेत्रका २०८ जनालाई जग्गाको निस्सा वितरण गरिएको हो।
भेरी–३ स्थित वडा कार्यालय ठाँटीबाजामा सम्पन्न कार्यक्रममा भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष सर्पराज रावतको प्रमुख आतिथ्यता र कार्यवाहक वडा अध्यक्ष तेज विक्रम शाहको अध्यक्षतामा निस्सा वितरण गरिएको हो।

फोटो क्याप्सन : भेरी नगरपालिकाको वडा नं. ३ स्थित ठाँटी बजारमा रहेको वडा कार्यालयमा जग्गाको निस्सा वितरण गर्दे जाजरकोटमा भूमि समस्या समाधान समिति जाजरकोटका अध्यक्ष सर्पराज रावत Photo:- odakhabar
कार्यक्रममा बोल्दै अध्यक्ष रावतले अव्यवस्थित रूपमा बसेका परिवारलाई अधिकार सुनिश्चित गर्ने प्रक्रियाको औपचारिक सुरुआत भएको बताए। “वर्षौंसम्म अपहेलित र अन्यौलमा परेका नागरिकहरूलाई अब जग्गाको अधिकार सुनिश्चित गरिनेछ,” उनले भने।
कार्यवाहक वडा अध्यक्ष तेज विक्रम शाहले लामो समयदेखि जारी प्रयास आज सार्थक बन्दै गएको उल्लेख गरे। “आयोगले देखाएको तत्परता प्रशंसनीय छ, यसले आगामी दिनमा थप नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ,” उनले बताए।
कार्यक्रममा आयोगका विज्ञ सदस्य नवराज शाही र सदस्य रामचन्द्र घर्तीले प्रक्रिया, अधिकार र आगामी चरणका गतिविधिबारे सहभागीहरूलाई विस्तृत जानकारी दिएका थिए। कार्यपालिका सदस्य डोटे बादीले आफ्नो भावुक प्रतिक्रिया दिँदै, “वर्षौंदेखिको हाम्रो संघर्ष र मेहनत आज परिणाममुखी भएको छ,” भनिन्।
निस्सा पाउने स्थानीयहरूले अब आफूहरू लालपुर्जा पाउनेमा आशावादी भएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार अब जग्गा अधिकारको आधार खुलेको छ र यसले भोलिका दिनमा आवास, शिक्षा, रोजगारी जस्ता सेवामा सहजता ल्याउने अपेक्षा गरिएको छ।
जग्गा अधिकार सुनिश्चिततासँगै सामाजिक पहिचान, पहुँच र विकासमा सहभागीता बढ्ने स्थानीयहरूको विश्वास छ। आयोगले निस्सा वितरण प्रक्रिया क्रमशः अन्य वडाहरूमा पनि विस्तार गरिने जानकारी दिएको छ।
कार्यक्रममा भेरी नगरपालिका–३ का करिब २०८ स्थानीयको उपस्थिति रहेको थियो।
निस्सा वितरण कार्यक्रममा भेरी नगरपालिकाका कार्यक्रम अधिकृत शुदा हमाल , नापी सर्वेक्षक केशब पुन लगाएतको सहभागीता रहेको थियो ।
