Oda khabar
ट्रेण्डिङ

जाजरकोट/ जाजरकोटमा क्रियाशील विभिन्न राजनीतिक दलका महिला नेतृहरूको साझा संस्था अन्तरपार्टी महिला सञ्जालको पुनर्गठन गर्दै चालु आर्थिक वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको छ। दुई–दुई वर्षमा आलोपालो नेतृत्व हस्तान्तरण गर्ने परम्परा तथा विधानअनुसार यस वर्षको नेतृत्व नेकपा (एमाले)को भागमा परेको हो। त्यसअनुसार एमालेकी महिला नेतृ देवी नेपाली सञ्जालको अध्यक्षमा चयन भएकी छन्।

फोटो क्याप्सन : नव निर्वाचत नयाँ कार्यसमिति । तस्विर : वडा खवर

नवनिर्वाचित कार्यसमितिमा वविता चनारा उपाध्यक्ष, पुतला विक सचिव तथा रती नेपाली कोषाध्यक्ष चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा रामछाया कुमारी शाही, विष्णु गिरी, रतनकला गिरी, तारा शाक्य, भावना भण्डारी, कृष्ण सिंह, धर्मशिला बस्नेत, सिला नेपाली, सुनसरा खत्री, सुमित्रा ओली, कल्पना कार्की शाक्य, अमृता बि.सी. ओलीहेमा शाह रहेका छन्।

पुनर्गठनपछिको पहिलो बैठकले सञ्जालको बैंक खाता सञ्चालन गर्ने, स्थानीय तहसँग औपचारिक समन्वय र परिचयात्मक जानकारी गराउने तथा आगामी कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ। बैठकले महिलाको नेतृत्व विकास, राजनीतिक सहभागिता र साझा मुद्दामा दलगत सीमाभन्दा माथि उठेर सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

यसअघि सञ्जालको नेतृत्व नेपाली कांग्रेस निकट महिला नेतृ रामछाया कुमारी शाहीले सम्हाल्दै आएकी थिइन्। सञ्जालको विधानअनुसार प्रत्येक दुई वर्षमा नेतृत्व परिवर्तन गर्ने र विभिन्न राजनीतिक दलबीच आलोपालो नेतृत्व हस्तान्तरण गर्दै अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गर्ने अभ्यास रहँदै आएको छ। यही अभ्यासले विभिन्न दलबीच विश्वास, सहकार्य र लोकतान्त्रिक संस्कृतिलाई संस्थागत बनाउन सहयोग पुगेको सञ्जालका सदस्यहरूको भनाइ छ।

जाजरकोटमा अन्तरपार्टी महिला सञ्जाल विगत केही वर्षदेखि महिला नेतृत्व सुदृढीकरण, लैङ्गिक समानता, महिला अधिकार संरक्षण तथा राजनीतिक संस्कार विकासका क्षेत्रमा साझा मञ्चका रूपमा सक्रिय रहँदै आएको छ। फरक–फरक राजनीतिक दलमा आबद्ध महिलाहरूलाई एउटै मञ्चमा ल्याएर साझा सवालमा एकीकृत आवाज उठाउने, लोकतान्त्रिक मूल्य–मान्यता प्रवर्द्धन गर्ने तथा महिला नेतृत्वबीच संवाद र सहकार्य बढाउने उद्देश्यले सञ्जालले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सञ्जालले महिला हिंसाविरुद्ध जनचेतनामूलक अभियान, लैङ्गिक समानता सम्बन्धी अभिमुखीकरण, संविधानले सुनिश्चित गरेका महिला अधिकारका विषयमा छलफल, स्थानीय तहमा महिला सहभागिता अभिवृद्धि, निर्वाचनमा महिलाको प्रभावकारी भूमिका तथा नेतृत्व विकाससँग सम्बन्धित तालिम र अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रमले फरक राजनीतिक विचारधारामा आबद्ध महिलाहरूबीच आपसी सम्मान, सहकार्य र साझा जिम्मेवारीको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको अनुभव छ।

फोटो क्याप्सन : नेतृत्व हस्तान्तरण गर्दे रामछाँया शाही । तस्विर : वडा खवर

विशेषगरी स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि, राजनीतिक दलका महिला संगठन तथा नागरिक समाजबीच समन्वयको वातावरण निर्माण गर्न सञ्जालले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ। महिला अधिकारसँग सम्बन्धित नीति निर्माण, बजेट विनियोजन, हिंसा न्यूनीकरण, बालविवाह, छुवाछूत, घरेलु हिंसा तथा सामाजिक विभेदजस्ता विषयमा संयुक्त रूपमा आवाज उठाउने माध्यमका रूपमा पनि सञ्जाल स्थापित हुँदै गएको छ।

राजनीतिक प्रतिस्पर्धा स्वाभाविक भए पनि महिलाका साझा अधिकार, समान अवसर र नेतृत्व विकासका सवालमा सबै दलबीच सहकार्य आवश्यक रहेको सन्देश सञ्जालले निरन्तर दिँदै आएको छ। यही कारण अन्तरपार्टी महिला सञ्जाललाई जाजरकोटमा राजनीतिक सहिष्णुता र लोकतान्त्रिक संस्कारको अभ्यास गर्ने साझा थलोका रूपमा समेत हेरिएको छ।

नवनिर्वाचित अध्यक्ष देवी नेपालीले महिलाको राजनीतिक क्षमता अभिवृद्धि, नयाँ पुस्ताका महिलालाई नेतृत्वमा आकर्षित गर्ने, स्थानीय तहसँग समन्वय गरी महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्ने तथा सबै राजनीतिक दलका महिलाबीच आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले सञ्जाललाई केवल औपचारिक संस्था नभई महिलाको साझा आवाज, साझा सिकाइ र साझा अभियानको मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको बताइन्।

राजनीतिक विश्लेषकहरूका अनुसार अन्तरपार्टी महिला सञ्जालजस्ता संरचनाले महिलामा लोकतान्त्रिक संस्कार, संवादको संस्कृति, सहिष्णुता र सहकार्यको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउँछन्। दलगत प्रतिस्पर्धाभन्दा माथि उठेर महिलाका साझा मुद्दामा एकताबद्ध हुने अभ्यासले स्थानीय लोकतन्त्रलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। जाजरकोटमा पनि सञ्जालले विगतदेखि निर्वाह गर्दै आएको समन्वयकारी भूमिकालाई नयाँ नेतृत्वले अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय