४ माघ सल्यान, वडाखबर प्रतिनिधि /ग्रामिण भेगका सर्वसाधारणका लागि बीमा अझै पनि टाढाको विषय जस्तो लाग्ने गर्छ । तर दुःख र विपत्तिको क्षणमा यही बीमा जीवनको सबैभन्दा भरपर्दो सहारा बन्ने उदाहरण नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जाजरकोट शाखाले सल्यान जिल्लाको कुमाख गाउँपालिका वडा नं. ४ मा प्रस्तुत गरेको छ । भारतमा रोजगारीका क्रममा दुर्घटनामा परी ज्यान गुमाएका एक विमितका परिवारलाई कम्पनीले पहिलो किस्ता बापत रु दुई लाख बीमा रकम हस्तान्तरण गरेको हो ।
पोखरा गाउँस्थित जिउला क्षेत्रमा रहेको मृतकको घरमै पुगेर आयोजित भावनात्मक कार्यक्रममा कम्पनीकी जाजरकोट शाखा प्रमुख शोभा मल्लले मृतक विमितकी आमा लक्ष्मी विष्टलाई रु दुई लाखको चेक हस्तान्तरण गर्नुभयो । कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिक, महिला समूहका आमा–दिदीबहिनी, आफन्त तथा छिमेकीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । दुःखले थिचिएको परिवारबीच चेक हस्तान्तरणको क्षण निकै भावुक बनेको थियो ।
चेक बुझ्दै विमितकी आमा लक्ष्मी विष्टले आँसु झार्दै भन्नुभयो, “छोरा रोजगारीका लागि भारत गएको थियो, उतै दुर्घटनामा ज्यान गुम्यो । छोरा गुमाउँदाको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन । तर उसले समयमै बीमा गरेको रहेछ, आज यही बीमाले परिवारलाई सहारा दिएको छ । दुःख पर्दा बीमा कति ठूलो साथी हुँदो रहेछ भन्ने कुरा आज बुझें ।” उहाँले ग्रामिण भेगका सबैलाई बीमा गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा मृतककी श्रीमती लक्ष्मी विष्टले पनि अत्यन्त भावुक हुँदै अहिले घरमा कमाउने कोही नरहेको, साना बालबालिकाको पालनपोषण र शिक्षाका लागि ठूलो चुनौती रहेको बताउनुभयो । “यस्तो अवस्थामा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीमाको रकमले बालबालिकालाई पढाउन र जीवन अघि बढाउन केही सहज हुने विश्वास लिएको छु,” उहाँको भनाइ थियो ।

फोटो क्याप्सन: नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जारकोटका कर्मचारीहरु विमितको रकम हस्तान्तरण समारोहमा चेक हस्तान्तरण गर्र्दे । तस्विर : वडाखबर ।
अबका दिनमा सन २०३५ सम्म थप ५ लाख रुपैया दुई किस्तामा विमितका अभिभाबक लक्ष्मि विस्टले प्राप्त गर्नुहुने छ । आफुले थप रकम पाउने भए पछि विष्टले आफ्नो जिवनको सहारा हुने बताउनु भयो साथै विमा कम्पनीका कर्मचारीहरुलाई वहाले आफु अनपढ भएकोले वेला वेलामा सम्झाउन सहयोग गर्न आग्रह गर्नु भयो ।
मृतकका पिता रिखे बिष्टले आँखाभरि आँसु पार्दै छोराले परिवारको भविष्य सुरक्षित गर्न गरेको बीमाको निर्णय आज आएर जीवनदायी बनेको प्रतिक्रिया दिनुभयो । “छोराले नातिनातिनाको नाममा समेत बीमा गरेको कुरा हामीलाई थाहा नै थिएन,” उहाँले भन्नुभयो, “आज बीमाको पैसा पाउँदा पीडाबीच पनि आशाको झिल्को देखिएको छ ।”
कार्यक्रममा उपस्थित स्थानीयवासीहरूले ग्रामिण भेगमा बीमाप्रति अझै चेतनाको कमी रहेको उल्लेख गर्दै नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घरदैलोमै आएर बीमा रकम हस्तान्तरण गर्नु उदाहरणीय कार्य भएको बताएका थिए । सहभागीहरूले यस्तो अफ्टेरो अवस्थामा बीमा कम्पनी आफन्तझैँ साथमा उभिएको अनुभव भएको प्रतिक्रिया जनाउँदै आफूहरू पनि बीमा गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा सेवा निवृत्त नेपाली सेना, शिक्षक, स्थानीय बुद्धिजीवी, कृषक, महिला समूहका पदाधिकारी तथा पत्रकारहरूको सहभागिता रहेको थियो । नेशनल लाइफ इन्सुरेन्सको तर्फबाट शाखा प्रमुख शोभा मल्लसहित सहायक कर्मचारी कल्पना मल्ल र लता चन्दको उपस्थिति रहेको थियो ।
