जाजरकोट, साउन नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशको सातौँ वार्षिक साधारण सभा आइतबार जाजरकोट जिल्लाको शिवालय गाउँपालिका–५ स्थित सिमामा आयोजना हुने भएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जाजरकोटको आयोजनामा, जिल्ला शाखाको आतिथ्यता तथा नेपाल रेडक्रस सोसाइटी सिमा उपशाखाको व्यवस्थापनमा प्रदेशस्तरीय साधारण सभा सञ्चालन हुन लागेको हो।
कर्णाली प्रदेशका १० वटै जिल्लाबाट प्रतिनिधिहरूको सहभागिता रहने उक्त साधारण सभा रेडक्रस अभियानको वार्षिक समीक्षा, आगामी कार्यदिशा तय, अनुभव आदानप्रदान तथा मानवीय सेवाका कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी जाजरकोट जिल्ला शाखाले जनाएको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्री प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। त्यसैगरी नेपाल रेडक्रस सोसाइटीका प्रदेश तथा जिल्ला तहका पदाधिकारी, स्वयंसेवक, विभिन्न जिल्लाका प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहने जनाइएको छ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जाजरकोटले कार्यक्रम सफल बनाउन आवश्यक सम्पूर्ण समन्वय तथा सहकार्य गरिरहेको सभापती हरि वहादुर वस्नेतले बताउनु भयो ।
कार्यक्रम व्यवस्थापनको जिम्मेवारी लिएको सिमा उपशाखाका अनुसार शिवालय गाउँपालिकामा रेडक्रसका विभिन्न परियोजनाहरू सञ्चालनमा रहेका कारण स्थानीय सरकारसँगको समन्वय सहज भएको छ। पालिकाको सहयोग र स्थानीय समुदायको सक्रिय सहभागिताले प्रदेशस्तरीय कार्यक्रम व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुगेको उपशाखाको भनाइ छ।
रेडक्रसले प्राकृतिक विपद्, स्वास्थ्य, खानेपानी, सरसफाइ, प्राथमिक उपचार, विपद् जोखिम न्यूनीकरण, समुदायमा आधारित कार्यक्रम तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ। प्रदेशभर सञ्चालन भएका कार्यक्रमहरूको समीक्षा, वित्तीय तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी वर्षका योजना पारित गर्ने कार्यसूची पनि साधारण सभामा समावेश गरिएको छ।
प्रदेशका सबै जिल्लाबाट आउने प्रतिनिधिहरूबीच अनुभव आदानप्रदान हुने भएकाले स्थानीय तहमा सञ्चालन भइरहेका मानवीय सेवाका कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। साथै विपद् व्यवस्थापन, स्वयंसेवक परिचालन, रक्तसञ्चार सेवा, स्वास्थ्य प्रवर्द्धन तथा समुदायमा आधारित कार्यक्रमका उत्कृष्ट अभ्यासहरू एकअर्कासँग साझा गरिने अपेक्षा गरिएको छ।
साधारण सभाका लागि जाजरकोट पुगेका प्रतिनिधिहरूले शिवालय गाउँपालिका तथा आसपासका धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटकीय स्थलहरूको अवलोकन गर्ने सम्भावना रहेकाले यसले स्थानीय पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। प्रदेशका विभिन्न जिल्लाबाट आउने पाहुनाहरूको आगमनले स्थानीय होटल, यातायात, खाद्य तथा अन्य सेवा व्यवसायमा समेत आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।
नेपाल रेडक्रस सोसाइटीले विगतदेखि नै मानवीय सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। विपद्का बेला उद्धार तथा राहत वितरणदेखि समुदायमा स्वास्थ्य सचेतना, प्राथमिक उपचार तालिम, रक्तदान अभियान, स्वयंसेवक परिचालन तथा सामाजिक सेवाका विविध कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाको प्रदेशस्तरीय साधारण सभा जाजरकोटमा आयोजना हुनुलाई जिल्लाका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
स्थानीय सरोकारवालाहरूले यस्ता प्रदेशस्तरीय कार्यक्रमले जाजरकोटको पहिचान, स्थानीय आतिथ्यता, सामाजिक सद्भाव तथा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशको सातौँ वार्षिक साधारण सभाले आगामी वर्षका नीति तथा कार्यक्रम तय गर्नुका साथै प्रदेशभर सञ्चालन हुने मानवीय सेवाका अभियानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
