बालकुमार शर्मा २१ असार , जाजरकोट — नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा जाजरकोट सदरमुकाम खलंगामा खुला कविता वाचन र प्रवचन कार्यक्रम गरिने भएको छ।
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले आसन्न असार २९ गते कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। कार्यक्रमको मूल विषय “भानुभक्तको नेपाली भाषामा योगदान” रहनेछ भने स्थानीय कवि, स्रष्टाहरूको सक्रिय सहभागिता रहने प्रतिष्ठानले जनाएको छ।
कार्यक्रममा “भानुभक्तको नेपाली भाषा तथा साहित्यमा योगदान” विषयमा प्रवचन हुने र स्थानीय स्रष्टाहरूको कविता वाचन समेत गरिने जनाइएको छ। कार्यक्रमलाई नेपाली भाषाको श्रीवृद्धिमा योगदान पुर्याउने अवसरका रूपमा लिने तयारी गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो।
त्यस्तै, बैठकले जिल्लाको मौलिक सांस्कृतिक सम्पदा संरक्षणका पक्षमा समेत विभिन्न निर्णयहरू गरेको छ। यस वर्ष पनि जिल्लाको ऐतिहासिक र धार्मिक परम्परा अनुसार मनाइने खड्ग देवता (खर्के देउता) भित्र्याउने चलन र लाखे नाँचको व्यवस्थापनका लागि सरोकारवाला निकाय, स्थानीय समुदाय र पक्षहरूसँग समन्वय गर्दै प्रतिष्ठानले आवश्यक सहजीकरण र सहयोग गर्ने निर्णय गरेको छ।
पर्यटन प्रवर्द्धनतर्फ ध्यान दिँदै, जाजरकोटमा आउने आगन्तुकहरूलाई जिल्लाका प्रमुख पर्यटकीय स्थलबारे जानकारी दिनका लागि छेडाबजार र रिम्नाबजारमा पर्यटकीय होरिङ बोर्ड राखिने भएको छ। जसमार्फत जाजरकोटको ऐतिहासिक, धार्मिक र प्राकृतिक स्थलहरूको चिनारी प्रवाह गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।
अध्यक्ष केसीका अनुसार, जाजरकोटको भाषा, संस्कृति, सम्पदा र पर्यटन प्रवर्द्धनका लागि प्रतिष्ठानले आगामी दिनमा थप कार्यक्रमहरू सञ्चालन गर्दै जाने योजना बनाएको छ।
