बालकुमार शर्मा २८ असार खलंगा, जाजरकोट /
नेकपा एमाले जाजरकोटले शनिबार बिहान जिल्ला सदरमुकाम खलंगा स्थित माथिल्लो थाप्लेमा रहेको होटल ऋद्धिको सभाहलमा विभिन्न जनसंगठनका प्रतिनिधिहरूसँग विशेष भेला सम्पन्न गरेको छ। पार्टीको संगठनात्मक सुदृढीकरण र आगामी रणनीतिलाई केन्द्रमा राख्दै आयोजित भेलामा २३ वटा जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

फोटो क्याप्सन /नेकपा एमाले पार्टीका विभिन्न जनसंगठनहरूका प्रमुख तथा प्रतिनिधिहरूको भेलामा सहभागीहर तस्विर : सौजन्य विश्व विक्रम शाह
नेकपा एमाले जाजरकोटका उपाध्यक्ष तथा जनवर्गीय विभाग प्रमुख विश्व विक्रम शाहका अनुसार, भेला प्राकृतिक विपत्तिको सम्भावनालाई ध्यानमा राखी पार्टी र त्यसअन्तर्गतका जनसंगठनहरूको भूमिका थप प्रभावकारी बनाउन कार्ययोजना निर्माण गर्न केन्द्रित थियो।
उनका अनुसार, विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै ‘उद्धार टिम’ गठन गर्ने निर्णयसँगै तत्काल उद्धार तथा राहत संयन्त्र निर्माणमा जनसंगठनहरूको सक्रियता सुनिश्चित गरिने भएको छ।
त्यस्तै, नेपाल उद्योग तथा व्यवसायी महासंघलाई जिल्लामा औद्योगिक क्षेत्रको विकास, लगानी प्रवर्द्धन र उत्पादकत्व वृद्धिमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिम्मेवारी दिइने निर्णय पनि भेलाबाट गरिएको छ।
भेलामा सहभागी नेकपा एमाले भेरी नगर कमिटी अध्यक्ष मुकुन्द शर्माले संगठनहरूको भूमिकालाई अझ सशक्त बनाउनु अहिलेको आवश्यकता रहेको धारणा राख्नु भएको थियो ।
“हाम्रा जनसंगठनहरू विगतमा जनस्तरमा गहिरो प्रभाव पार्ने हैसियतमा थिए, तर पछिल्लो समय ती संगठनमा सहभागीता घट्दो क्रममा छ, जुन चिन्ताको विषय हो,” अध्यक्ष शर्माले थप्नु भयो ।, “अब संगठनहरूले स्थानीय तहसम्म पुगेर जनताको वास्तविक समस्या सुन्ने, पार्टीका विचार र नीति जनस्तरसम्म पुर्याउने, र स्थानीय स्तरमै नेतृत्व उत्पादन गर्ने काम गर्नुपर्छ।”
उनका अनुसार नेकपा एमालेले जिल्लाका सातवटै स्थानीय तहमा जनसंगठनहरूको संरचना विस्तार गर्ने तयारी गरिरहेको छ।
“संगठन सशक्त नभएसम्म पार्टीको अभियान धरातलमा प्रभावकारी हुँदैन,” शर्माले जोड दिनु भयो ।

फोटो क्याप्सन / नेकपा एमाले पार्टीका विभिन्न जनसंगठनहरूका प्रमुख तथा प्रतिनिधिहरूको भेलामा उपस्थित जिल्ला स्तरका नेता तथा कार्यक्रताहरु तस्विर : सौजन्य विश्व विक्रम शाह
यस्तै पार्टीको धारणा वुझ्न पार्टी सचिब गोपाल नेपाली लाई टेलिफोन गर्दा आफु कामको शिलसिलामा जिल्ला वाहिर रहेकोे र आगामी दिनमा जनसंगठनहरूलाई केवल नामका लागि नराखी कार्यदिशा दिन सक्ने, जनताको मनमा छिर्ने, र विपद्, उद्धार, राहत तथा विकासका सवालमा पार्टीको सक्रिय उपस्थितिलाई सुनिश्चित गर्ने माध्यम बनाउने तयारी भइरहेको जानकारी दिनु भयो
वहाँका अनुशार , यस्ता भेला तथा छलफलहरू निरन्तर सञ्चालन गरी पार्टी संगठनलाई पुनः गतिशील बनाउने योजना रहेको छ।अझै प्रभावकारी रुपमा काम गर्न बाकी छ गोपाल नेपालीले भन्नु भयो ।
