जनक के. सी /जाजरकोट जिल्लामा मात्रै नभएर कर्णाली प्रदेशमै विकास समृद्धि र रोजगारीका अवसर पहिल्याउन सक्ने सामर्थ्य वोकेको हाम्रो भेरी नगरपालिकालाइ भाषणमा मात्रै नभएर यथार्थमै समृद्ध वनाउन यी तलका कामहरु गर्ने जनप्रतिनिधिहरु कहिले आउलान ?

– जनक के .सी.
१. तरकारी उत्पादनको निकै राम्रो सामथ्र्य र सम्भावना भएको भेरीमा तरकारी संकलन केन्द्र स्थापना गरेर यहाँको तरकारीलाइ जिल्ला वाहिरका वजारहरुमा आवस्यक पहल र समन्वय सहित निर्यात गर्न सके केहि युवाहरुले रोजगारी पाउछन् अनि किसानहरुले उत्पादन वढाउछन् भन्ने सोचको योजना निर्माण र कार्यान्व्यन गर्ने ।
२. नगरपालिका भित्रका १६ वर्ष देखि माथि ४० वर्ष देखि तलका सवै वेरोजगार युवाहरुलाइ कम्प्युटर, ड्राइभिंङ, वाइरिंङ, च्याउ खेती, माछा पालन, नाङलो, डोको, चकटी, रुमाल, स्वीटर र पक्की अचार वनाउने तालिम दिएर स्वरोजगार वन्न सहयोग र प्रेरणा प्रदान गर्ने योजना निर्माण र कार्यान्वयन गर्ने ।
३. खेल क्षेत्रमा रुचि भएका विद्यार्थी र युवाहरुलाइ विशेष तालिम र अवसर दिएर राम्रो सम्भावना देखिएको भलिवल, क्रिकेट र फुटवलको विकासमा गतिलो र अर्थपुर्ण लगानीको योजना निर्माण र कार्यान्वयन गर्ने ।
४.विभिन्न लागु औषधको कुलतमा फसेका सवै युवाहरुलाइ गतिलो परामर्ष सहित उद्यमशीलता र स्वरोजगार तर्फ लगाउन पहल र लगानीको योजना निर्माण र कार्यान्वयन गर्ने ।
५. कर्णाली प्रदेशमै उत्कृष्ट पर्यटन विकासको सम्भावना वोकेका जाजरकोट दरवार, मछाइनाको मालिका, कालेगाउँको शिवालय, कुदुको भुमेस्वर गुफा, वाहुनथानको साङट गुफा, डिंगाको दिदिवहिनी झरना, जगतिपुरको वायु घट्ट, मैदेको चमेरे गुफा, रानागाउँको सानीमालिका मन्दिर क्षेत्र र रिम्नाको सहिद पार्कलाइ आकर्षक पर्यटकीय गन्तव्य वनाउने तर्फ गतिलो पहल र लगानी गर्ने योजना निर्माण र कार्यान्वयन मार्फत स्थानीय स्तरमा राम्रो रोजगारीको अवसर सिर्जना गराउने ।
६. होलु, कुदु, कालेगाउँ, भुरचौरका खेतवारीमा भेरी र होलु खोलाको पानीले सिचाइ गर्ने योजना निर्माण गरेर उन्नत प्रविधि र विउविजनको प्रयोगमा अग्रसरता देखाइ किसानलाइ कृषिकर्ममा उत्साहि वनाउने योजनाको निर्माण र कार्यान्व्यन गर्ने ।
७. नगरपालिका भित्र कार्यरत कर्मचारी, शिक्षक, सेना प्रहरी, सामाजिक संघसँस्थाका कार्यकर्ताहरुलाइ प्रत्यक वर्ष आफनो खेतवारी या वाँझो जमिनमा २० वटा विरुवा अनिवार्य रुपमा रोप्न लगाउने योजना निर्माण र कार्यान्वयन गर्ने ।
८. नगरपालिका भित्रको पानी मुहानहरुरहेका जंगल क्षेत्रहरु, र महत्वपुर्णय पर्यटकीय क्षेत्र नजिकको हरिया वन क्षेत्रलाइ सवैतर्फवाट निषेधित वन क्षेत्र घोषणा गर्ने योजना निर्माण र कार्यान्वयन गर्ने ।
९. नगरपालिका भित्रको सिंगारु, सोरठी, सरंगे लगाएतका मौलिक नाँच, लाखे नाँच, रमाइलो मेला, खडग देउता भित्र्याउने चलन र स्थानीय वाजाहरुको संरक्षणको लागि स्थानीय युवा विद्याथीहरुलाइ शसक्त रुपमा परिचालन गर्ने योजनाको निर्माण र कार्यान्वयन ।
१०. नगर भित्रको सवै पक्की तथा कच्ची सडकको अवस्था सुधारको लागि सडक विभाग र अन्य निकायसंगको समन्वय प्रभावकारी वनाउदै आफनो तर्फवाट निर्वाह गर्नु पर्ने जिम्मेवार र उत्तरदायी भुमिकालाइ शसक्त वनाउने योजना निर्माण र कार्यान्वयन मार्फत भेरी नगरपालिका भरि खाल्डाखुल्डीमुक्त सडक निर्माण गर्ने ।
११. जेष्ठ नागरिक, असक्त नागरिकहरुको सामाजिक सुरक्षा भत्ता र अन्य सुविधा घरमै गएर दिने लोक कल्यानकारी कार्य गर्ने योजना निर्माण र कार्यान्वयन गर्ने ।
१२. सुरक्षित सुत्केरी सेवाको लागि जिल्ला अस्पतालमा प्रभावकारी आकस्मिक रक्तसन्चार सेवा सन्चालन गर्दै अति विपन्न नागरिकहरु र त्यस्तो परिवारका वालवालिका र जेष्ठ नागरिकहरुको लागि निशुल्क उपचारको व्यवस्था गर्ने योजना निर्माण र कार्यान्वयन गर्ने ।
१३. नगरपालिका भित्रका सवै आधारभुत विद्यालयहरुमा नागरिक तथा नैतिक शिक्षालाइ अनिवार्य गरि कक्षा ११ र १२ मा कम्प्युटर शिक्षालाइ पनि थप अनिवार्य विषयको रुपमा राख्ने व्यवस्था गर्ने योजना निर्माण र कार्यान्वयन गर्ने ।
१४. व्यवस्थित वजारीकरण तथा सहरीकरणको उन्नत योजना वनाएर खलंगा वजार, रिम्ना वजार, कुदु, फेरा लगाएतका वजारहरुको भित्री र वाहिरी स्वरुपलाइ आकर्षक र नियमसंगत वनाउने योजना निर्माण र कार्यान्वयन गर्ने ।
१५. लघु उद्यम, उद्योग व्यवसाय तथा व्यापारलाइ चलायमान र रोजगारीका अवसर सिर्जनाको लागि लगानीमैत्री वातावरण तयार गर्न आन्तरिक र वाहय लगानीकर्ताहरुलाइ आकर्षित गर्ने योजना निर्माण र कार्यान्व्यन गर्ने ।
१६. समग्र जाजरकोटको ऐतिहासिक मौलिक एवम सामाजिक जनजीवनको पहिचान दिने गरि जाजरकोट संग्राहलयको स्थापना गरि पर्यटन विकास र रोजगारी सिर्जनामा सहयोग पुरयाउने योजना निर्माण र कार्यान्वयन गर्ने ।
१७. यहाँका पर्यटकीय क्षेत्रहरुमा नजिकैको सडकवाट पहुँच पुरयाउनको लागि भेरी नगरपालिकाकै खानीमा पाइने छाने ढुंगा विछयाएर आकर्षक मौलिक सिढि निर्माण गरेर पर्यटक आकर्षित गर्ने योजना निर्माण र कार्यान्वयन गर्ने ।
१८. कक्षा ११ र १२ तथा उच्च शिक्षा पढ्न चहाने तर आर्थिक अवस्थाले हच्किन वाध्य प्रतिभाशाली अति विपन्न विद्यार्थीहरुलाइ विशेष छात्रवृत्ति मार्फत सहयोग गर्ने योजना निर्माण र कार्यान्वयन गर्ने ।
१९. नगरपालिका भित्रका १० वटै माध्यमिक विद्यालयमा कमाउदै पढ्दै कार्यक्रम सन्चालन गरेर विद्यालयमा फलफुल तरकारी तथा उद्यमशील सीप मार्फत विभिन्न वस्तुहरु उत्पादन गरि विद्यार्थीहरुलाइ पढाइमा सहयोग गराउने योजना निर्माण र कार्यान्वयन गर्ने ।
२०. भेरी नगरपालिका र १३ वटै वडा कार्यालयहरुले प्रत्यक ६ ÷ ६ महिनामा आफुले सम्पादन गरेका कामहरु, सुशासनका अभ्यासहरु र पारदर्शिताका कार्याहरुलाइ मिडिया र सामाजिक सन्जाल मार्फत जनताको प्रत्यक्ष प्रतिक्रिया आउने गरि सवैलाइ जानकारी गराउनै पर्ने वाध्यकारी कार्य गर्नको लागि योजना निर्माण र कार्यन्वयन गर्ने ।
२१. नगरपालिका भित्रका सवै जनप्रतिनिधिहरुले चुनाव जितेको एक महिना भित्र र कार्याकाल सकिन १ महिना वाँकी हुदा आफनो सम्पति विवरण अनिवार्य वुझाउनै पर्ने निर्णय र सोको कार्यान्वयन गर्ने ।
