सल्यान । सामान्यतया भैँसी कालो रङमा देखिन्छ, तर सल्यानको बागचौर नगरपालिका–३ का वडा अध्यक्ष भीम प्रकाश भण्डारीको घरमा सेतो भैँसी देखिएपछि गाउँभरि कौतूहल बढेको छ ।
स्थानीयवासीका अनुसार सेतो भैँसी बिरलै पाइने भएकाले हेर्न आउनेहरूको भीड बढेको छ । ‘यो भैँसीलाई संरक्षण गरेर पाल्दै आएको छु । अहिले तीन वर्षको भएको छ, हेर्न आउने मानिस छक्क पर्छन्,’ अध्यक्ष भण्डारीले बताउनुभयो ।
उनका अनुसार कतिपय विज्ञहरूले यस्तो सेतो भैँसी दुर्लभ भए पनि असम्भव भने नरहेको टिप्पणी गरेका छन् । दीर्घकालीन रूपमा यस्ता सेतो भैँसी भेटिन थाले कृषि तथा पशुपालन विभागले विशेष जातीय पहिचान गरी अनुसन्धान गर्न सक्ने सम्भावना रहेको समेत जनाइएको छ ।
अहिले गाउँका बासिन्दा मात्र नभई छिमेकी गाउँका मानिसहरू पनि यो अनौठो सेतो भैँसी हेर्न आउने क्रम बढेको वडा अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
