जाजरकोट । भेरी नगरपालिकाको नगरस्तरीय विद्यालयहरुको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि भेरी त्रिवेणी माध्यमिक विद्यालय, रिम्नामा औपचारिक रूपमा सुरु भएको छ । विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासमा टेवा पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको यो प्रतियोगिताले रिम्ना बजारलाई नै खेलमय बनाएको छ ।
प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीले पानसमा बत्ती बालेर गर्नुभएको हो । उद्घाटन समारोह भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्यता समेत जिल्ला समन्वय प्रमुख खत्रीले नै गर्नुभएको थियो ।
उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै भेरी नगरपालिकाको शिक्षा तथा सामाजिक विकास शाखाका प्रमुख प्रमोद विष्टले राष्ट्रपति रनिङ शिल्ड केवल खेलकुद प्रतियोगिता मात्र नभई विद्यार्थीहरूमा अनुशासन, नेतृत्व, सहकार्य र प्रतिस्पर्धी भावना विकास गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो । उहाँले विद्यालय तहबाटै खेलकुदलाई जीवनशैलीको अंग बनाउनु आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रमको सञ्चालन भेरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक ओलीले गर्नुभएको थियो । सुव्यवस्थित र अनुशासित रूपमा सञ्चालन गरिएको उद्घाटन समारोहमा शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भेरी नगरपालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ । आयोजकका अनुसार प्रतियोगितामा ३ सय ७५ भन्दा बढी विद्यार्थी खेलाडीहरूले विभिन्न खेल विधामा प्रतिस्पर्धा गरिरहेका छन् । रनिङ शिल्ड मापदण्ड अनुसार एथलेटिक्स, भलिबल, कबड्डी, हाई जम्प, लङ जम्प लगायतका खेलहरू उद्घाटन पश्चात आजैदेखि सुरु भएका छन् ।
आजदेखि तीन दिनसम्म सञ्चालन हुने भनिएको प्रतियोगिता खेलहरूको संख्या र विद्यार्थी सहभागिता बढेकाले चार दिनसम्म सञ्चालन हुने आयोजक विद्यालय भेरी त्रिवेणी माविका शिक्षक रुद्र वलीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता सफल बनाउन विद्यालय परिवार, स्थानीय समुदाय र नगरपालिकाको सक्रिय सहयोग रहेको छ ।
उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि काली बहादुर खत्रीले खेलकुदले विद्यार्थीलाई शारीरिक रूपमा स्वस्थ बनाउनुका साथै अनुशासित, आत्मविश्वासी र लक्ष्यप्रति प्रतिबद्ध बनाउने बताउनुभयो । “स्वस्थ शरीरमा नै स्वस्थ मस्तिष्क विकास हुन्छ,” उहाँले भन्नुभयो, “त्यसैले पढाइसँगै खेलकुदलाई पनि समान महत्व दिनु आजको आवश्यकता हो ।”
यस्तै कार्यक्रमका अध्यक्ष तथा भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले विद्यार्थीहरूलाई कुलत, हिंसा र नकारात्मक क्रियाकलापबाट जोगाउन खेलकुद अत्यन्त प्रभावकारी माध्यम भएको बताउनुभयो । नगरपालिकाले शिक्षा क्षेत्रमा मात्र होइन, खेलकुद पूर्वाधार विकास र प्रतिभा पहिचानमा समेत निरन्तर लगानी गर्दै आएको उहाँको भनाइ थियो । “आजका विद्यार्थी भोलिका राष्ट्र निर्माता हुन्, उनीहरूलाई स्वस्थ, सक्षम र अनुशासित बनाउन खेलकुद अपरिहार्य छ,” नगर प्रमुख घर्तीले जोड दिनुभयो ।
प्रतियोगिताका कारण रिम्ना बजार पूरै रनिङ शिल्डमय बनेको छ । विद्यालय परिसर मात्र नभई बजार क्षेत्रसमेत खेलकुदको उत्साहले भरिएको देखिन्छ । विभिन्न विद्यालयका विद्यार्थीहरू आ–आफ्ना टिमका लागि हौसला प्रदान गरिरहेका छन् भने स्थानीय बासिन्दा समेत खेल हेर्न उत्साहित देखिएका छन् ।
कार्यक्रममा जिल्लास्थित पत्रकारहरू, सम्बन्धित सरोकारवाला निकाय, नेपाल स्काउटका भाइबहिनीहरू, जाजरकोटको कला र संस्कृतिका अभियन्ता राजु राज सिंह लगायतको उपस्थिति रहेको थियो । सबैले प्रतियोगिताको सफलताको कामना गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले भेरी नगरपालिकाका विद्यार्थीहरूमा खेलप्रतिको रुचि बढाउनुका साथै स्वस्थ जीवनशैली, मित्रता र प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
