Oda khabar
ट्रेण्डिङ

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टीले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको छ। पार्टीले गरेको उक्त निर्णयसँगै उनको कर्णाली प्रदेश सभा सदस्य पद पनि खारेज हुने प्रक्रिया अघि बढाइएको छ।

पार्टीका कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार शर्मामाथि गरिएको कारबाहीसम्बन्धी पत्र बुधबार नै कर्णाली प्रदेश सभा सचिवालयमा पठाइसकिएको छ। २०७९ सालको प्रदेश सभा निर्वाचनमा रुकुम पश्चिमबाट निर्वाचित शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीका कर्णाली प्रदेश इन्चार्जसमेत हुन्।

प्रमुख सचेतक जिसीले शर्माले जानीजानी पार्टीको नीति, सिद्धान्त, उद्देश्य र आचरणविपरीत गतिविधि गरेको ठहर गर्दै पार्टी विधान तथा कर्णाली प्रदेश संसदीय दलको विधान २०८२ अनुसार केन्द्रीय समिति लगायत दलका सम्पूर्ण जिम्मेवारीबाट हटाई साधारण सदस्यबाट समेत निष्कासन गरिएको जानकारी दिए।

उनका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (९२०) र (९५०) बमोजिम पार्टी सदस्यबाट निष्कासित व्यक्ति प्रदेश सभा सदस्य रहन नपाउने कानुनी व्यवस्था रहेको छ। सोही आधारमा शर्मालाई प्रदेश सभा सदस्य पदबाट मुक्त गर्न आवश्यक कानुनी प्रक्रिया अघि बढाउन प्रदेश सभा सचिवालयलाई औपचारिक पत्राचार गरिएको उनले बताए।

कर्णाली प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले कारबाहीसम्बन्धी पत्र दर्ता भइसकेको र प्रचलित कानुनी प्रक्रिया अनुसार अगाडि बढाइएको जानकारी दिएका छन्।

पूर्वमुख्यमन्त्रीसमेत रहेका शर्मामाथिको यस कारबाहीले कर्णाली प्रदेशको राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न गरेको छ। आगामी दिनमा प्रदेश सभामा देखिने शक्ति सन्तुलन र राजनीतिक समीकरणमा यसको प्रभाव पर्ने आकलन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय