जाजरकोट, साउन १४ – जाजरकोटमा सञ्चालित लैङ्गिक न्याय, स्वास्थ्य तथा शिक्षा अधिकारसम्बन्धी परियोजनाको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल गर्न जिल्ला परियोजना सल्लाहकार समिति (District Project Advisory Committee) को बैठक बिहीबार सदरमुकाम खलंगामा सम्पन्न भएको छ।
पहाडी क्षेत्र विकास अभियानको आयोजना, केयर नेपालको प्राविधिक समन्वय तथा जिल्ला समन्वय समिति जाजरकोटको सहकार्यमा आयोजित बैठकमा केयर नेपालद्वारा जिल्लामा सञ्चालित विभिन्न परियोजनाको प्रगति, उपलब्धि तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण र छलफल गरिएको थियो।
कार्यक्रमको प्रारम्भमा जिल्ला समन्वय समिति जाजरकोटका शाखा अधिकृत नारायणजङ्ग पाण्डेले सहभागीहरूलाई स्वागत गर्दै परियोजनाको सफल कार्यान्वयनका लागि सबै सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो।
पहाडी क्षेत्र विकास अभियानका अध्यक्ष प्रदीपजङ्ग शाहले बैठकका उद्देश्य, छलफलका विषयवस्तु तथा परियोजनाबाट अपेक्षित उपलब्धिबारे जानकारी गराउँदै स्थानीय तह र सरोकारवाला निकायको सक्रिय सहभागिताले परियोजनालाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।
बैठकमा केयर नेपालका कार्यक्रम मेनेर सिआर परियोजना संयोजक निरा ठाकुरले जाजरकोटमा सञ्चालित परियोजनाहरूको उद्देश्य, कार्यप्रगति, उपलब्धि तथा आगामी योजनाबारे विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो। प्रस्तुतीकरणपछि सहभागीहरूबाट सुझाव तथा सल्लाह संकलन गरिएको थियो।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ जाजरकोटका अध्यक्ष सहदेव बस्नेत, नेपाल पत्रकार महासंघ जाजरकोटका सल्लाहकार बालकुमार शर्मा, कुशे गाउँपालिकाकी उपाध्यक्ष देविका सिंह, बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी, नलगाड नगरपालिकाका प्रमुख दलबहादुर रावत तथा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीलगायतले परियोजनाको प्रभावकारिता, स्थानीय आवश्यकता र दिगोपनाका विषयमा आ–आफ्ना सुझाव तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
छलफलका क्रममा शाखा अधिकृत नारायणजङ्ग पाण्डेले परियोजना सुरु हुनुभन्दा अगाडि नै यस्ता समन्वय तथा सल्लाहकार समितिका बैठक आयोजना गरिए परियोजनाको योजना निर्माणदेखि कार्यान्वयनसम्म थप प्रभावकारी हुने बताउँदै आगामी दिनमा त्यसतर्फ विशेष ध्यान दिन आग्रह गर्नुभयो।
बैठकमा केयर नेपालले जाजरकोटमा हालसम्म १० वटा बर्थिङ सेन्टर निर्माण सम्पन्न गरिसकेको जानकारी पनि गराइएको थियो। सहभागीहरूले यस्ता परियोजनाले जिल्लामा मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै आगामी दिनमा शिक्षा, स्वास्थ्य र लैङ्गिक न्यायका क्षेत्रमा स्थानीय सरकारसँग थप समन्वय गरी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए।
