Oda khabar
ट्रेण्डिङ

जाजरकोटको कुसे गाउँपालिका वडा नं १ स्यांक्री निवासी राम बहादुर रावत र तुल्सी चलाउनेकी १८ वर्षीया छोरी मनिशा रावतको भिरबाट लडेर ज्यान गएको दुःखद खबर प्राप्त भएको छ।

मनिशा कुसे गाउँपालिका वडा नं १ मावलमा बसोबास गर्दै श्री मान्ने ढुङ्गा माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्। हिजो मात्र उनले आफ्नो अन्तिम परीक्षा दिएकी थिइन्। उज्ज्वल भविष्यका सपना बोकेकी, मेहनती र अब्बल छात्राको रूपमा चिनिएकी मनिशाको उमेरमै निधनले गाउँभरि स्तब्ध बनाएको छ।

बुधबार बिहान बाख्रा चराउन घरनजिकैको डाँडातर्फ गएकी मनिशा अचानक चिप्लिएर भिरबाट करिब ५० मिटर तल खसेको बताइएको छ। स्थानीयवासीहरूले घटनास्थलमा पुगेर तत्काल उद्धार प्रयास गरे तापनि गम्भीर चोटका कारण उनको घटनास्थलमै ज्यान गएको पुष्टि गरिएको छ।

शिक्षकहरूका अनुसार मनिशा पढाइमा अत्यन्त लगनशील, व्यवहारमा मिलनसार र अनुशासित विद्यार्थी थिइन्। विद्यालय परिवारले उनको निधनले अपूरणीय क्षति भएको बताएका छन्। सहपाठीहरूसमेत अत्यन्त दुखी छन् र सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

परिवार, आफन्त, गाउँले सबै गहिरो शोकमा छन्। मनिशाको निधनले उनको परिवार मात्र होइन, पुरै गाउँले समुदायलाई भावनात्मक रूपमा क्षति पुगेको छ।

स्थानीय युवाहरू भन्छन्, “मनिशा बहुप्रतिभाशाली थिइन्। पढाइमै लागेकी थिइन्। उनको यस्तो अकाल मृत्युप्रति हाम्रो मन अत्यन्त पीडामा छ।”

यो घटनाले गाउँमा बालबालिका तथा युवायुवतीहरूको सुरक्षाका लागि थप ध्यान दिनुपर्ने आवश्यकतालाई उजागर गरेको छ। दैनिक कामकाजका क्रममा हुने जोखिमबाट कसरी जोगिने भन्नेमा समुदाय सचेत हुनुपर्ने आवश्यकता महसुस गरिएको छ।

जाजरकोटमा बर्शेनी भिरबाट अकालमा दर्जन बढीले ज्यान गुमाउदै आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय