लिला पौडेल २० असार जाजरकोट
बालविवाह न्यूनीकरणका लागि धार्मिक अगुवाहरूले ऐक्यबद्धता जनाउँदै साझा प्रतिबद्धता सार्वजनिक गरेका छन्। भेरी नगरपालिका–४ जाजरकोट स्थित रामजानकी मन्दिर परिसरमा सम्पन्न कार्यक्रममा २७ जना धार्मिक अगुवाहरूले बालविवाह रोकथामका लागि नैतिक र व्यवहारिक नेतृत्व दिने घोषणा गरेका हुन्।
श्री रामजानकी मन्दिरको आयोजनामा तथा भेरी नगरपालिकाको सहकार्यमा आयोजित “धार्मिक अगुवाहरू लक्षित बालविवाह न्यूनीकरण जनचेतनामूलक कार्यक्रम” श्री रामजानकी मन्दिरका अध्यक्ष खम्ब जंग शाहको अध्यक्षता र भेरी नगरपालिका–४ का कार्यवाहक वडाध्यक्ष माधब चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल राष्ट्रिय दलित कल्याण संघ (NNDSWO) का जाजरकोट कार्यक्रम संयोजक कृष्ण तिरुवा, असल शासन कर्मी बालकुमार शर्मा, पत्रकार राजेन्द्र कार्की, इन्सेक प्रतिनिधि बासुदेव शर्मा लगायतले सहजीकरण गरेका थिए।
आज भएको कार्यक्रममा साझा प्रतिबद्धता: धर्म र न्यायको पक्षमा भएको छ ।
कार्यक्रममा सहभागी धार्मिक अगुवाहरूले बालविवाह जस्तो गम्भीर सामाजिक समस्याको समाधानमा धर्म, आस्था र संस्कारको सकारात्मक प्रयोग गर्दै निम्न प्रतिबद्धताहरू व्यक्त गरेका छन्:
-
धर्म, समाज र मन्दिरहरूबाट बालविवाहविरुद्ध चेतना फैलाउने
-
प्रवचन, पूजा तथा धार्मिक कार्यक्रममा जनचेतना अभिवृद्धि गर्ने
-
बालविवाह हुन लागेको सूचना पाएमा तत्काल रोकथामका लागि सरोकारवालासँग समन्वय गर्ने
-
विवाह संस्कार गर्दा कानुनी उमेर नपुगेका जोडीलाई मन्दिरबाट सेवा नदिने
-
बालमैत्री समाज निर्माणका लागि धार्मिक नेतृत्व सक्रिय बनाउने
-
नगरस्तरीय छलफल र कार्यक्रमहरूमा सक्रिय सहभागी हुने
-
प्रहरी, महिला सञ्जाल, बाल क्लब लगायत निकायसँग सहकार्य गर्ने
आज भएको कार्यक्रममा धार्मिक नेतृत्वबाट सामाजिक रूपान्तरणको अपेक्षा समेत गरिएको छ ।
सहभागीहरुले धार्मिक अगुवाहरूको प्रतिबद्धता र भूमिकाले समाजमा सकारात्मक रूपान्तरण ल्याउने र बालबालिकाको अधिकार सुरक्षित हुने विश्वास व्यक्त गरे। कार्यक्रममार्फत भेरी नगरपालिकालाई बालमैत्री, शिक्षामैत्री र न्यायपूर्ण समाजका रूपमा विकास गर्ने अभियानमा थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ।
