लिला पौडेल , असार २० जाजरकोट /
सामाजिक विकास कार्यालय जाजरकोटको आयोजनामा स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा प्राविधिक सहायकका लागि सञ्चालित प्रशासन तथा सूचना प्रणालीसम्बन्धी क्षमता अभिवृद्धि तालिम आज समापन गरिएको छ। तालिम असार १८ गतेदेखि २० गतेसम्म तीन दिनसम्म सञ्चालन भएको थियो।
समापन कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख दशरथ लामिछानेको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख कालि बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा सहभागी कर्मचारीहरूले सूचनाको प्रयोग, व्यवस्थापन र प्रवाहका विषयमा धेरै नयाँ कुरा सिक्न पाएको बताएका छन्। उनीहरूले यसअघि सूचना प्रणालीबारे ज्ञान भए पनि सुनियोजित रूपमा कार्यान्वयन गर्न नसकेको अवस्थालाई तालिमले सकारात्मक दिशा दिएको बताएका छन्।
तालिमले सूचना प्रवाहमा पारदर्शिता, प्रशासनिक दक्षता, र प्रविधिमैत्री सेवा प्रवाहमा सहयोग पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
उक्त तालिममा जिल्लाभरका स्थानीय तहका प्रतिनिधि गरी करिब २ दर्जन कर्मचारीको सहभागिता रहेको थियो।
