Oda khabar
ट्रेण्डिङ

काठमाण्डौ – रसुवामा बाढीमा परी हराइरहेका १८ जनाको खोजी भइरहेको छ । बिहान ३ बजेतिर नेपाल–चीनको सिमानामा रहेको ल्हेन्दे खोलामा आएको बाढीका कारण १८ जना सम्पर्कविहीन भएका हुन् । हराउनेमा छ जना नेपाली कामदार, छ जना चिनियाँ कामदार, तीन जना प्रहरी र तीन जना गाडी चालक रहेका जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

एकजना नेपाल प्रहरी र एकजना सशस्त्र प्रहरीका जवान तथा सात जना स्थानीयबासिन्दाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएकोे छ । गृह मन्त्रालयका अनुसार खोज तथा उद्धारको लागि हेलिकोप्टर परिचालन गरिएको छ ।

बाढीले नेपाल–चीन नाका जोड्ने मितेरी पुल बगाएर पूर्ण रूपमा क्षति पुगेको छ । प्रहरीका अनुसार विद्युतीय गाडी चार्जिङ स्टेशनमा क्षति पुगेको र आठ वटा विद्युतीय गाडी बगाएको छ । यसैगरी रसुवागढी हाड्रोपावरमा समेत क्षति पुगेको छ ।

गोसाइकुण्ड गाउँपालिकामा पर्ने पासाङल्हामु सडकखण्डको धुन्चेदेखि टिमुरेसम्मको बाटो बाढीका कारण बन्द भएको रसुवा प्रहरीले जनाएको छ । रसुवामा आएको बाढीले त्रिशूली नदीको बहाव बढ्दा त्यसको प्रभाव नुवाकोट र धादिङसम्म पुगेको छ । बिहान नुवाकोटको विदुर नगरपालिकामा त्रिशूली नदीमा फसेका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरले सकुशल उद्धार गरेको छ ।

धादिङ प्रशासनले त्रिशूली नदी किनारमा सावधानी अपनाउन आग्रह गरेको छ । अहिले नदीमा पानीको सतह घट्दो क्रममा रहे पनि सम्भावित जोखिमलाई ध्यानमा राखी त्रिशूली नदीको रसुवागढीदेखि धादिङको बेनिघाटसम्म नदी तटीय क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । चितवन प्रहरीले त्रिशूली नदी हुँदै नारायणी नदीसम्म बाढीको जोखिम रहेकोले नारायणी नदी किनारमा रहेकाहरुलाई सावधानी अपनाउन भनेको छ । त्रिशूलीमा बाढी आउँदा त्यसको प्रभाव नारायणी नदीमा पनि देखिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार तिब्बत क्षेत्रमा परेको वर्षाले ल्हेन्दे खोला, भोटेकोशी हुँदै त्रिशूली नदीसम्म बाढी आएको हो । महाशाखाका अनुसार तिब्बत क्षेत्रमा परेको वर्षाले ल्हेन्दे खोला, भोटेकोशी हुँदै त्रिशूली नदीसम्म बाढी आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय