Oda khabar
ट्रेण्डिङ

वडाखबर प्रतिनिधी २८ असार जाजरकोट /  भेरीनगरपालिका स्थानीय तहको न्यायिक समितिको अधिकार, दायरा र कार्यप्रणालीबारे स्पष्ट जानकारी दिन भेरी नगरपालिकामा एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।

न्यायिक समितिद्वारा आयोजित सो कार्यक्रममा कार्यपालिका सदस्यहरू, वडा सचिवहरू, र सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख चन्द्र प्रकाश घर्तीले स्थानीय तहको न्यायिक समितिले सानातिना विवादहरू सहज, छिटो, लागत–कम रूपमा समाधान गर्न सक्ने भएकाले यसको प्रयोग र अभ्यास प्रभावकारी हुनुपर्नेमा जोड दिए। उनले भने, “समस्याको समाधान अदालत होइन, स्थानीय तहमै खोज्न सक्ने वातावरण बनाउनु आवश्यक छ। न्यायिक समितिले जनताको ढोका ढोका पुगेर समाधान गर्ने संयन्त्र हो।”

उप–प्रमुख सीता जैसीले न्यायिक समितिको संयोजकको हैसियतले अनुभव बाँड्दै भनिन्, “जटिल मुद्दाभन्दा दैनिक जीवनका पारिवारिक, जग्गा, सम्बन्ध, महिला हिंसा जस्ता धेरै विषयहरू न्यायिक समितिको क्षेत्राधिकारमा पर्छन्। हामीले कानूनी समझ र सामाजिक चेतनालाई समेटेर काम गर्न आवश्यक छ।”

कार्यक्रममा जिल्ला न्यायाधीशको विशेष उपस्थिति रहेको थियो। उनले संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, र न्यायिक समितिसम्बन्धी अन्य कानुनी प्रावधानहरूबारे प्रष्ट पारे।

न्यायिक समितिले गर्न सक्ने मुख्य कामहरूमा पारिवारिक झगडा, सामान्य कुटपिट, सार्वजनिक अपमान, जग्गा विवाद, क्षतिपूर्ति लगायतका मुद्दा समाधान पर्छन् भन्ने जानकारी गराइयो।

कार्यक्रममा सहभागी वडा अध्यक्ष र सचिवहरूले यस्तो अनुशिक्षणले न्यायिक समितिको व्यवहारिक कार्यसम्पादनमा स्पष्टता ल्याउने बताएका छन्।

अनुशिक्षण कार्यक्रमले न्यायिक समितिको अधिकार क्षेत्र, प्रक्रियागत पक्ष, निर्णय कार्यान्वयन, मेलमिलाप र सामाजिक समन्वयको महत्त्वबारे गहिरो छलफल गरेको थियो।

कार्यक्रम अन्त्यमा भेरी नगरपालिकाले न्यायिक समितिको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई नियमित र व्यवहारिक बनाउने प्रतिबद्धता जनाएको थियो।

कार्यक्रम भेरी नगरपालिकाका उप प्रमुख तथा न्यायिक समितिका संयोजक सिता जैसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय