Oda khabar
ट्रेण्डिङ

वडा खवर प्रतिनिधि ३० जाजरकोट ।

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले एक महत्वपूर्ण निर्णय लिँदै देशभरका रिफर विना सेवा लिन सकिने प्रथम सेवा विन्दु स्वास्थ्य संस्थाहरूको नामावली सार्वजनिक गरेको छ।

स्वास्थ्य बीमा अन्तर्गत अब वीमित व्यक्तिले कुनै पनि स्थानबाट स्वास्थ्य कार्यक्रममा सहभागी भई श्रावण १ गतेदेखि बोर्डले सुचीकृत गरेका स्वास्थ्य संस्थाबाट रिफर (सिफारिस) नचाहिकनै सेवा प्राप्त गर्न सक्नेछन्।

बोर्डका अनुसार यो निर्णयले विशेषगरी सेवा पहुँच, समान पहुँचको हक, र स्वास्थ्य बीमाको विश्वास पुनःस्थापित गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

स्वास्थ्य बीमा कार्यक्रम विगतका वर्षहरूमा कार्यान्वयनमा देखिएको जटिलता, रिफर प्रणालीको अव्यवस्था, सेवा प्रदायक संस्थाको अनियमितता, र बीमितको असन्तुष्टिका कारण आलोचित हुँदै आएको थियो। यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार सम्हालेदेखि नै बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन विशेष पहल गर्दै आउनुभएको छ।

आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरिएका प्रथम सेवा विन्दु संस्थाहरूले के-के सेवा दिने?
बोर्डले सार्वजनिक गरेका संस्थाहरूले बीमित नागरिकलाई ओ.पि.डी., सुत्केरी सेवा, आकस्मिक उपचार, जचाउँ तथा सामान्य रोगहरूको उपचारजस्ता सेवा दिन सक्नेछन्। यसका लागि बीमितले पहिलेजस्तो जिल्ला वा प्रदेशबाट रिफर पत्र ल्याउनु नपर्नेछ।

स्वास्थ्य बीमा बोर्डले भनेको छ – “अबको प्राथमिकता बीमितलाई सहज, भरपर्दो र गुणस्तरीय सेवा दिनु हो। सेवा प्रदायक स्वास्थ्य संस्थाको अनुगमनलाई समेत सशक्त बनाइनेछ।”

नागरिकमा बढ्दो भरोसा
रिफरको झन्झट हटेसँगै सेवा लिन सहज भएपछि नागरिकस्तरमा यो निर्णयको स्वागत गरिएको छ। कर्णाली, सुदूरपश्चिम, मधेस लगायत भौगोलिक दृष्टिले विकट जिल्लाका जनतालाई विशेष राहत हुने अपेक्षा गरिएको छ।

धेरैजसो पालिकाबाट अझै पनि स्वास्थ्य बीमा नविकरणमा समस्या देखिएको समयमा यो निर्णयले बीमा नवीकरण दरमा समेत सुधार ल्याउने देखिएको छ।

स्वास्थ्य बीमा बोर्डका अनुसार सूचीमा समावेश भएका स्वास्थ्य संस्थाहरूको पूर्ण विवरण बोर्डको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ।

रुकुम पश्चिम र जाजरकोटमा कुन कुन स्वास्थ्य संस्थाबाट सेवा लिन सकिन्छ त?

जाजरकोटमा ,जाजरकोट जिल्ला अस्पताल , लिम्सा प्राथमिक स्वास्थ्य केन्द्र , नलगाड नगर अस्पताल ,गर्खाकोट प्रथामिक अस्पताल , छेडागाड नगर अस्पताल रहेका छन् ।
यस्तै रुकुम पश्चिममा आठविसकोट नगर अस्पताल , रुकुम पश्चिम जिल्ला अस्पताल , कोटजहारी प्राथमिक स्वास्थ्य केन्द्र , शहीद स्मृती नगर अस्पताल , सानीभेरी नगरपापलिका अस्पताल रहेका छन् । यी संस्थाहरुमा विना रिफर सेवा लिन सकिने स्वास्थ्य वीमा वोर्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय