सु्र्खेत प्रतिनिधी , असार ३१ वीरेन्द्रनगर/
जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त अपरेसनमा नक्कली नेपाली नोट छाप्ने र लागुऔषध अफिमको कारोबारमा संलग्न एक ठुलो गिरोह पक्राउ परेको छ। उक्त गिरोहले मिडिया हाउसको आवरणमा गैरकानुनी धन्दा सञ्चालन गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको हो।
प्रहरीले झण्डै १३ लाख रुपैयाँ बराबरको नक्कली नोट, ३० किलोभन्दा बढी अफिम जस्तो देखिने पदार्थ, तथा नोट छपाइमा प्रयोग हुने विभिन्न उपकरणसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार, गोप्य सूचनाको आधारमा अपरेसन सुरु गरिएको थियो।
उनले भने, “यो एक संगठित अपराधको जालो हो। हामी यसको गहिराइमा पुगेर अनुसन्धान गरिरहेका छौं। मिडियाजस्तो सम्मानित क्षेत्रको आवरणमा यस्तो अवैध गतिविधि हुनु निकै गम्भीर विषय हो।”
कसरी सुरु भयो अपरेसन ?
सोमबार, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, शान्तिटोलबाट प्रहरीले पहिलो पक्राउ गरेको थियो। जाजरकोट कुशे गाउँपालिका–५ की २२ वर्षीया दिलमाया सिंह ठकुरीलाई ६ हजार नक्कली नोटसहित पक्राउ गरिएको थियो।
उनको बयानका आधारमा प्रहरीले सोही दिन राम बहादुर सिंह (३३), कुशे–५ को डेरामा छापा मार्दा १२ लाख ३६ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गर्यो।
अफिमसहित थप पक्राउ
अनुसन्धानलाई विस्तार गर्दै प्रहरीले कुशे गाउँपालिका–७ का कृष्ण बहादुर वली (३५) लाई भेरीगंगा नगरपालिका–१२ बाट ११ किलो ३७२ ग्राम अफिमजस्तो देखिने पदार्थसहित नियन्त्रणमा लियो।
मिडिया हाउसबाट कारखाना सञ्चालन
यसै गिरोहको खोजी क्रममा प्रहरी टोली बाँकेको कोहलपुर नगरपालिका–११, न्युरोडस्थित ‘जनगर्जन नेटवर्क प्रालि’ मिडिया हाउसमा पुग्यो।
प्रहरीले त्यहाँ नक्कली नोट छाप्ने कारखाना नै सञ्चालनमा रहेको पत्ता लगाएको छ।
त्यसक्रममा मिडिया हाउसका सञ्चालक मन बहादुर सहकारी (३४), कालिकोट नरहरिनाथ गाउँपालिका–९ र उनका सहयोगी प्रेम बहादुर विक (३८), जाजरकोट लाई पक्राउ गरिएको छ।
मिडिया कार्यालयबाट प्रहरीले थप ५१ हजार रुपैयाँ नक्कली नोट, १९ किलो ३०० ग्राम अफिमजस्तो देखिने पदार्थ, र नोट छाप्ने क्यानोन प्रिन्टर, कम्प्युटर, कार्ड रिडर, क्यामेरा लगायतका सामग्रीहरू बरामद गरेको छ।
पक्राउ परेका अभियुक्तहरू
-
दिलमाया सिंह ठकुरी (२२) – जाजरकोट, कुशे–५
-
राम बहादुर सिंह (३३) – जाजरकोट, कुशे–५
-
कृष्ण बहादुर वली (३५) – जाजरकोट, कुशे–७
-
प्रेम बहादुर विक (३८) – जाजरकोट
-
मन बहादुर सहकारी (३४) – कालिकोट, नरहरिनाथ–९ (जनगर्जन नेटवर्क प्रालिका सञ्चालक)
जिल्ला प्रहरी कार्यालय सुर्खेतले सबै पक्राउ परेकालाई खोटा मुद्रा तथा लागुऔषध (अफिम) सम्बन्धी कसुरमा हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रमुख शाहीले भने, “यो घटनाले अपराधीहरूले कसरी सम्मानित क्षेत्रको प्रयोग गर्दै गैरकानुनी काम लुकाउने गर्छन् भन्ने गम्भीर सन्देश दिएको छ।”
