बालकुमार शर्मा १ श्रावण जाजरकोट /
साउने संक्रान्तिको अवसर पारेर जाजरकोट जिल्लामा प्राचीन परम्परा अनुसार ‘लुतो फाल्ने’ चलन यस वर्ष पनि सांस्कृतिक उत्साहसाथ मनाइएको छ। यस अवसरमा स्थानीय बासिन्दाले घर–घरमा दियालो बालेर पूजा अर्चना गरी रोग–व्याधि हटाउने जनविश्वाससहित लुतो फालेका हुन्।

फोटो क्याप्सन : ठाँटीबजारमा लुतो फाल्दै स्थानीय / तस्विर: दिप बहादुर घर्ती
सामान्यतया यो दिन घरका सदस्यहरू भेला भई भला, कुरिल्लो, जामुन, उखु, फलफूल, रोटी, पुष्पलगायतका सामग्रीहरू संकलन गरी घरको आगनमा दियालो बालेर विशेष पूजा गर्ने गरिन्छ। पूजापछि यी सामग्रीहरूको प्रयोग गरी ‘लुतो’ बनाइन्छ र त्यसलाई घरबाहिर फालिन्छ।
स्थानीय बासिन्दाहरूको विश्वास अनुसार यस चलनले वर्षभरि हुने सक्ने रोग, खटिरा, छालाका समस्या, र अन्य अनिष्टहरूबाट बचाउने मानिन्छ। “यो हाम्रो पुर्खाबाट चल्दै आएको परम्परा हो। यसले शरीर र आत्मामा शुद्धता ल्याउँछ भन्ने विश्वास छ,” जाजरकोट नगरपालिका–५ का एक स्थानीय बासिन्दा नन्दबहादुर शाहीले बताए।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा यस पर्वलाई फरक–फरक ढंगले मनाइने भए पनि यसको मूल उद्देश्य शरीरको रोग र मानसिक अशान्तिबाट छुटकारा पाउने विश्वास हो।
सांस्कृतिक अभ्याससँगै स्थानीय समुदायको एकता र पहिचान जोगाउन समेत यस्ता परम्पराले भूमिका खेलेको जानकारहरू बताउँछन्।
यस्तै खलंगा स्थित ठाँटीबजारमा शिव प्रसाद शर्माको अगुवाईमा यस पटक वृद्धा श्रममा स्थानीले सयुक्त रुपमा लुतो फालेका छन् ।
