जाजरकोट, साउन ४ — जाजरकोटको नलगाड नगरपालिका–३ त्रात्रस्थित हरियाली महिला सामुदायिक वन उपभोक्ता समितिले गएको आर्थिक वर्षमा २ हजार खयरका विरुवा रोपेको छ। खयर खेतीबाट आम्दानी बढाउने उद्देश्यसहित समिति सक्रिय भएको हो।
समितिकी अध्यक्ष पदमकुमारी सिंहका अनुसार उक्त क्षेत्रमा प्रारम्भिक अध्ययन गर्दा खयर खेती सफल हुने देखिएपछि सामूहिकरूपमा विरुवा रोपिएको हो। “खयर राम्रो हुने संकेत पाएपछि हामीले स्थानीयको श्रमदान र सरकारी सहयोगमा खेती सुरु गरेका हौं,” अध्यक्ष सिंहले भनिन्।
खयर खेतीका लागि डिभिजन वन कार्यालयबाट १ लाख १५ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो भने स्थानीय बासिन्दाले श्रमदान गरेका थिए। समितिका अनुसार खयरको माग पछिल्लो समय बढिरहेको छ, जसले बजार सुनिश्चितता र आम्दानीको नयाँ सम्भावना देखाएको छ।
खयरबाट वन समितिले दीर्घकालीन आम्दानी गर्न सक्ने र वन संरक्षणमा पनि सहयोग पुग्ने विश्वास लिएको समितिको भनाइ छ। यस कार्यले स्थानीय महिलालाई आर्थिक रूपमा सशक्त बनाउने अपेक्षा गरिएको छ।
जाजरकोटका अन्य सामुदायिक वन समितिहरूले पनि खयर खेतीतर्फ चासो देखाउन थालेका छन्। वन विज्ञहरूका अनुसार खयरको उचित व्यवस्थापन गर्न सके सामुदायिक वनहरूबाट वार्षिक लाखौं रुपैयाँ आम्दानी सम्भव छ।
