जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँमा आइतबार बिहान घाँस काट्ने क्रममा भीरबाट खसेर एक व्यक्तिको घटनास्थलमै ज्यान गएको छ। मृत्यु हुनेमा ५३ वर्षीय स्थानीय कासिराम जैसी रहेका छन्। जैसी दम्पती बिहानै भेरलोट्या जंगलतर्फ घाँस काट्न गएका थिए। पानी परिरहेको बेला, घाँस काट्दै गर्दा अचानक चिप्लिएर उनी करिब १०० मिटर तल खसेका थिए। ठूलो भीरबाट खसेपछि घटनास्थलमै उनको ज्यान गएको स्थानीयवासीहरूले पुष्टि गरेका छन्।
गाउँलेहरूका अनुसार, सोही भीरमा यसअघि पनि कम्तीमा पाँच जनाले ज्यान गुमाइसकेका छन्। यति ठूलो जोखिम हुँदाहुँदै पनि घाँस, दाउरा, दैनिकीका आवश्यकता पुरा गर्न स्थानीयहरू यस्तै खतरामा निर्भर रहन बाध्य छन्।
घटनापछि स्थानीय बासिन्दाहरूको सहयोगमा जैसीको शव झिकिएको हो। बीरको भूगोल अति नै अप्ठ्यारो रहेकाले उद्धार कार्यमा ठूलो कठिनाइ भएको गाउँलेहरूले बताएका छन्। कासिराम जैसीका एक छोरा र दुई छोरी छन्। छोरा भारतमा रोजगारीका लागि गएका थिए, बाबुको मृत्युको खबर पाएपछि उनी नेपाल फर्कने तयारीमा छन्।
परिवार स्रोतका अनुसार, मृतक जैसीको अन्त्येष्टि सोमबार गरिनेछ। डाँडागाउँका स्थानीयहरू भन्छन्, “हाम्रो जिवन त हरपल जोखिममै छ। न घाँस काट्न सुरक्षित ठाउँ छ, न वैकल्पिक व्यवस्था।” सरकार र स्थानीय तहको ध्यान यस्ता जोखिमयुक्त स्थानहरूको व्यवस्थापनमा जाओस् भन्ने उनीहरूको माग छ।
