जाजरकोट, साउन २१ – शिक्षा ऐन अन्तर्गतको कसुर (सट्टा परीक्षा) मा फरार रहेका एक अभियुक्तलाई जाजरकोट प्रहरीले बाँकेबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बाँकेको बैजनाथ गाउँपालिका–३ का ३७ वर्षीय निखिल बैगारलाई शुक्रबार बिहान उनकै घरबाट पक्राउ गरिएको हो। उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय कोहलपुरमार्फत शिक्षा ऐन अन्तर्गत सट्टा परीक्षा दिएको अभियोगमा जाहेरी दिएको थियो।
जाहेरीपछि बैगार फरार रहँदै आएका थिए। उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय जाजरकोटले गत असार ३१ गते जिल्ला प्रशासन कार्यालयबाट पक्राउ अनुमति लिएको सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरि राम डाँगीले जानकारी दिए।
उनका अनुसार खोजतलासको क्रममा बैगार बाँकेमै लुकेर बसेको थाहा पाएपछि शुक्रबार बिहान विशेष टोली खटाई पक्राउ गरिएको हो। पक्राउ परेका बैगारलाई जाजरकोट ल्याएर जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ। उनलाई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
