जाजरकोट, मंसिर ११ ।
महिला अधिकार मञ्च जाजरकोट र भेरी नगरपालिका महिला तथा जेष्ठ नागरिक शाखाको संयुक्त आयोजनामा भेरी नगरपालिका–४ खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयमा विद्यालयस्तरीय किशोरी छलफल कार्यक्रम सम्पन्न भएको छ। भेरी नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा कक्षा ८ देखि १२ सम्म अध्ययनरत ६४ जना किशोरीहरूको सहभागीता रहेको थियो।
कार्यक्रममा रेडियो हाम्रो पाइला एफएमका स्टेशन म्यानेजर लिला पौडेलले सहजिकरण गर्दै किशोरीहरूलाई लैङ्गिक हिंसाका विभिन्न रूप, सामाजिक तथा परम्परागत हानिकारक चलन, डिजिटल हिंसा, र प्रविधिको सुरक्षित प्रयोगबारे विस्तृत जानकारी गराएका थिए। पछिल्लो समय परम्परागत मूल्य–मान्यताका कारण किशोरीहरूमा धेरै समस्या देखिन थालेको सहभागीहरूले छलफलका क्रममा बताएका थिए।
किशोरीहरूको सुरक्षासम्बन्धी कानुनी जानकारी र प्रहरी सेवा–सहयोगबारे नेपाल प्रहरी जाजरकोटकी महिला सेलकी प्रतिनिधि पुजा ओली र प्रहरी हवल्दार पार्वती शाहले सहजिकरण गरेका थिए। कार्यक्रममा विद्यालयका महिला शिक्षकहरूले पनि साथ–सहयोग गरेका थिए।
छलफलबाट हाम्रो समाजमा विद्यमान परम्परागत सोच र व्यवहार परिवर्तनका लागि परिवारमै संवाद र सचेतना आवश्यक रहेको निष्कर्ष निकालिएको छ। साथै डिजिटल हिंसाबाट बच्न सजगता, गोपनीयता र सुरक्षित प्रविधि प्रयोगका उपायहरूबारे सहभागीहरू अवगत भएका छन्।
“प्रविधिको सही प्रयोग गरौँ, महिला हिंसा अन्त्य गरौँ” भन्ने मूल नाराका साथ सञ्चालन भएको अभियान अन्तर्गत उक्त कार्यक्रम जगतिपुर क्षेत्रमा सम्पन्न गरिएको हो। कार्यक्रमको रिपोर्टिङमा पत्रकार शारदा पुन सहभागी रहेकी थिइन्।
