जाजरकोट, मंसिर १८/ भेरी नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना तथा महिला अधिकार मञ्च जाजरकोटको समन्वयमा लैंगिक हिंसाले पारेका असर र प्रभावबारे वक्तृत्व कला प्रतियोगिता खलंगामा सम्पन्न भएको छ। खुला रुपमा आयोजना गरिएको प्रतियोगितामा विभिन्न पालिकाबाट आएका ९ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए।
प्रतियोगितामा सहभागी वक्ताहरूले लैंगिक हिंसा न्यूनिकरणका लागि सबै पक्षले साझा प्रयास गर्नुपर्ने, पीडितलाई सुरक्षित वातावरण बनाउन आवश्यक सहयोग र सहकार्य बढाउनुपर्नेमा जोड दिएका थिए। समाजमा अझै कायम रहेको पुरानो मानसिकता परिवर्तन नगर्ने हो भने हिंसा अन्त्य चुनौतीपूर्ण बन्ने उनीहरूको तर्क थियो।
कार्यक्रम महिला अधिकार मञ्चकी अध्यक्ष शोभा सिंहको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उपप्रमुख दल बहादुर सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। सामाजिक विकास कार्यालय जाजरकोटले पुरस्कार व्यवस्थापनका साथै आवश्यक सहयोग प्रदान गरेको कार्यालयका जगदिश उपाध्यायले जानकारी दिए। उनका अनुसार, कार्यालयले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तर साथ दिँदै आएको छ। भेरी नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख शारदा शर्माले यस्ता कार्यक्रमले महिलाको क्षमता बढाउने भएकोले भाग लिने महिलाको संख्या आगामी दिनमा वढाउन सके प्रत्येक्ष फाइदा पुग्नेमा जोड हु्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले नेपाल प्रहरीले सञ्चालन गर्दै आएको हिंसा विरुद्धको अभियानमा ऐक्यवद्धता जनाउँदै सबैलाई हिंसा न्यूनीकरणमा सहयोग गर्न आग्रह गर्यो। यस क्रममा नेपाल पत्रकार महासंघ जाजरकोटका निवर्तमान अध्यक्ष बालकुमार शर्माले लैंगिक हिंसा अन्त्यका कार्यक्रम प्रभावकारी रूपमा नचलेको बताउँदै सरोकारवाला निकायहरूले पर्याप्त ध्यान नदिएको उल्लेख गरे। उनले आगामी दिनमा बजेट विनियोजनमा प्राथमिकता दिने, स्थानीय सञ्चारमाध्यममार्फत सचेतना गाउँ–गाउँसम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा सहभागिता जनाउनेहरूका अनुसार, निरन्तर शिक्षा, सरोकारवालाबीच सहकार्य र समुदायस्तरमा जनचेतना नै लैंगिक हिंसा अन्त्यका मुख्य आधार हुन्।
