Oda khabar
ट्रेण्डिङ

जाजरकोट । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आगामी पुस २६–२८ गतेका लागि तय गरिएको भए पनि समयमै नहुने आशंकाहरू सार्वजनिक भइरहेका बेला कांग्रेस जाजरकोटले भने तोकिएकै कार्यतालिकाअनुसार जिल्ला, प्रदेश हुँदै केन्द्रको महाधिवेशन सम्पन्न हुनुपर्ने स्पष्ट धारणा राखेको छ ।

कांग्रेस जाजरकोटका सभापति बेदराज सिंहले बिहीबार सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्न महाधिवेशन कुनै पनि बहानामा सार्न नहुने बताए । उनले केन्द्रीय कार्यसमितिले तय गरेको १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणको प्रारम्भिक काम देशभर सम्पन्न हुनुपर्नेमा जाजरकोट कांग्रेसले जिम्मेवारीपूर्वक काम पूरा गरिसकेको दाबी गरे ।

सभापति सिंहका अनुसार मंसिर १५ गते केन्द्रीय कार्यसमितिले दिएको निर्देशनअनुसार जिल्ला पार्टीका नेता–कार्यकर्ता दिनरात खटिएर बस्तीबस्ती पुग्दै क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम सम्पन्न गरिएको हो । कांग्रेस अधिवेशनमा सधैँ विवादको विषय बन्ने क्रियाशील सदस्यता जाजरकोटमा भने विवादरहित रूपमा सम्पन्न भएको उनले बताए ।

‘बदलिएको सन्दर्भ, जनचाहना र नयाँ जनादेशको परिस्थितिमा अब महाधिवेशन कुनै पनि बहानामा रोकिनु हुँदैन,’ सभापति सिंहले भने, ‘सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तय गरिसकेको अवस्थामा जाजरकोट कांग्रेस निर्वाचनको पक्षमा स्पष्ट छ ।’

उनका अनुसार पछिल्लो समय जाजरकोट जिल्लामा कांग्रेसप्रति आकर्षण उल्लेखनीय रूपमा बढेको छ । पुराना सदस्यको संख्यामा करिब ५० प्रतिशत नयाँ सदस्य थपिएका छन् । तीमध्ये २५–३० प्रतिशत ‘जेनजी’ उमेर समूहका युवा छन् भने ४०–४५ प्रतिशत ४० वर्षमुनिका युवा सक्रिय सदस्यतामा आबद्ध भएका छन् ।

पार्टीप्रति बढ्दो आकर्षणले कांग्रेसले महाधिवेशनभन्दा अर्को कुनै विकल्प खोज्न नहुने स्पष्ट संकेत गरेको सिंहको भनाइ छ । ‘अधिवेशन नचाहने जिल्लाले सदस्यता वितरण नगरेका होलान्, तर हामीलाई महाधिवेशन चाहिएको छ,’ उनले भने, ‘नयाँ जनादेशसहित बदलिएको कांग्रेस लिएर हामी जनतामाझ जान चाहन्छौँ ।’

सभापति सिंहले भूकम्पले थला परेको जाजरकोटमा दुई वर्ष बितिसक्दा पनि पुनर्निर्माणमा राज्यको गम्भीरता नदेखिएकोप्रति पनि ध्यानाकर्षण गराए ।

सदस्यताको तथ्याङ्क

चौधौँ महाधिवेशनमा जाजरकोटमा ५ हजार २५४ क्रियाशील सदस्य रहेका थिए । हाल ४ हजार १ जनाले सदस्यता नवीकरण गरेका छन् । नवीकरण नभएकामध्ये केहीको निधन भइसकेको, २००–३०० जना शिक्षक–कर्मचारीले नवीकरण नगरेको तथा केही विदेशमा रहेको अनुमान गरिएको छ । नयाँ सदस्यता वितरणपछि हालसम्म नवीकरण संख्याको करिब ५१ प्रतिशत अर्थात् २ हजार २० नयाँ क्रियाशील सदस्य थपिएका छन् ।

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जाजरकोट कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरिसकेको पनि सभापति सिंहले जानकारी दिए ।

‘राष्ट्रिय तथा प्रतिनिधि सभाको आसन्न निर्वाचनको विषम परिस्थितिमा एक घण्टा पनि अलमल गर्ने छुट छैन,’ उनले भने, ‘युवा, जेनेजी पुस्ता र ज्येष्ठ नागरिकका भावना सम्बोधन गर्न पार्टीको आन्तरिक अधिवेशन अपरिहार्य छ ।’

निर्वाचन आयोग समानुपातिक बन्द सूचीको प्रक्रिया अन्तिम चरणमा पुगेपछि देश चुनावमय बन्ने भएकाले जिम्मेवार दलहरूले ढिलाइ नगरी तयारीमा जुट्नुपर्ने सिंहको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय