Oda khabar
ट्रेण्डिङ

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ मा नेपाली कांग्रेसका उम्मेदवारसँग अगुवा कार्यकर्ताको भेटघाट कार्यक्रम सम्पन्न भएको छ। सोमबार सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण भट्टले कांग्रेस नाराभन्दा नतिजामा विश्वास गर्ने पार्टी भएको स्पष्ट पारे।

उनले कांग्रेसले आश्वासन होइन, विश्वासको राजनीति गर्ने उल्लेख गर्दै अब मतदाताले विगतजस्तो मत खेर फाल्ने समय सकिएको बताए। पार्टी सभापति गगन थापा भविष्यमा प्रधानमन्त्री बन्ने लक्ष्यमा रहेको उल्लेख गर्दै त्यसका लागि जाजरकोटबाट खडकबहादुर बुढाको जित अपरिहार्य रहेको धारणा व्यक्त गरे। नागरिकलाई समुन्नत र जिल्लालाई समृद्ध बनाउने हो भने कांग्रेसको जित आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा नेपाली कांग्रेस जाजरकोटका जिल्ला सभापति तथा कर्णाली प्रदेश सांसद बेदराज सिंहले गणतन्त्रपछि जाजरकोटबाट सांसद र मन्त्री बने पनि अपेक्षित विकास हुन नसकेको स्वीकार गरे। उनले मत किनबेच गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिँदै जनताले अब वास्तविक परिवर्तन खोजिरहेको बताए। तत्कालीन माओवादी उपमहासचिव शक्तिबहादुर बस्नेतलाई मात्रै भोट हाल्ने टेण्डर नलिएको उल्लेख गर्दै गत भदौमा देखिएको ‘जेन–जी आन्दोलन’ परिवर्तनको संकेत भएको बताए। कांग्रेसप्रतिको मेटिएको माया पुनः जाग्दै गएको दाबी गर्दै यसपटक कांग्रेस पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरे।

यस्तै, नेपाली कांग्रेस जाजरकोटका सहसचिव तथा प्रवक्ता छवि पन्तले जाजरकोट कांग्रेसको किल्ला भएको र यो जिल्ला आश्वासनको राजनीति स्वीकार नगर्ने बताए। फागुन २१ गते त्यसको परिणाम देखिने दाबी गर्दै पैसा र जागिरको प्रलोभनमा मत माग्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा कांग्रेस जाजरकोटका साधारण सदस्य तथा भेरी नगरपालिकाकी उपप्रमुख सीता जैसीले विगतमा बाध्यताले केन्द्रीय राजनीतिक गठबन्धन गरिएको भए पनि अब कांग्रेस एक्लै चुनावमा जाने स्पष्ट पारिन्। कांग्रेसबाहेक जनताको भरोसायोग्य विकल्प अरु कुनै पार्टी नरहेको दाबी गर्दै विपद् र विभिन्न समस्यामा कांग्रेसले निरन्तर साथ दिएको उल्लेख गरिन्। पटक–पटक जितेर गए पनि गाउँ नफर्कने नेतासँग कांग्रेसको तुलना गर्न नहुने उनको भनाइ थियो।

कांग्रेसका उम्मेदवार खडकबहादुर बुढाले आफ्नो जित सुनिश्चित भएको दाबी गरे। जनतासँग घुलमिल भएर काम गरेको, युवाहरू तथा अन्य पार्टीका समर्थकसमेतले मन पराएको कारण आफ्नो विजय पक्का रहेको उनले बताए।

कार्यक्रमकै क्रममा विभिन्न पार्टी परित्याग गरी केही व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय