Oda khabar
ट्रेण्डिङ

जाजरकोट । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने तयारीस्वरूप जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जिल्लामा क्रियाशील सञ्चारकर्मीसँग निर्वाचन तथा आमसञ्चार सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

निर्वाचन अवधिभर मतदाता शिक्षा प्रभावकारी बनाउने तथा निर्वाचनसम्बन्धी सूचना सही र विश्वसनीय ढंगले आमनागरिकसम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ। कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरू, नेपाल पत्रकार महासंघ जाजरकोटका पूर्व अध्यक्ष, उपाध्यक्ष, सल्लाहकारलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत दुर्गा प्रसाद खनालले निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सञ्चारकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। उहाँले सत्यतथ्यमा आधारित सूचना संकलन तथा प्रसारण गर्न आग्रह गर्दै जिम्मेवार पत्रकारिताले निर्वाचनलाई थप पारदर्शी र विश्वसनीय बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो।

यस्तै  कार्यक्रममा पत्रकार बालकुमार शर्माले जाजरकोटका पत्रकारहरुले निर्वाचनलाई शान्ति पुर्ण र भय रहित बनाउन पत्रकारीता मार्फत आवश्यक भुमिकाम खेलिरहेको र निर्वाचन कार्यालयलाई मर्यादित र प्रभाबकारी बनाउन सक्दो सहयोग गरर्दे आएको बताउनु भएको थियो ।

त्यसैगरी, जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलले तथ्यपरक र सन्तुलित समाचारमार्फत आममतदातालाई सही सूचना प्रवाह गर्न सञ्चारकर्मीहरूलाई अनुरोध गर्नुभयो। स्पष्ट, विश्वसनीय र समयमै सूचना सम्प्रेषण गर्न सके मतदातामा निर्वाचनप्रति विश्वास अभिवृद्धि हुने उहाँको भनाइ थियो।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आफूहरू जिम्मेवार ढंगले भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए। आगामी दिनहरूमा पनि यस्तै समन्वय र सहकार्यलाई निरन्तरता दिँदै सकारात्मक सुझाव आदान–प्रदान गर्ने अपेक्षा व्यक्त गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय