जाजरकोट, साउन २ — जाजरकोट सदरमुकाम खलंगामा खानेपानी सेवा उपलब्ध गराउँदै आएको खलंगा सहलगानी खानेपानी आयोजनाको साधारणसभा आज दोस्रो पटक सञ्चालन भइरहेको छ। होटल वृद्धि सिद्धिको सभाहलमा सुरु भएको साधारणसभामा अपेक्षाकृत न्यून उपस्थिति रहेको आयोजनाले जनाएको छ।
यसअघि गत हप्ता आयोजना गरिएको साधारणसभा गणपुरक संख्या नपुगेपछि स्थगित भएको थियो। आयोजनाको विधानअनुसार पहिलो पटकको साधारणसभाका लागि उपभोक्ता समितिका ५१ प्रतिशत सदस्यको उपस्थिति आवश्यक पर्ने व्यवस्था रहेको छ। आवश्यक संख्या नपुगेपछि सभा स्थगित गरिएको थियो।
विधानको व्यवस्थाअनुसार दोस्रो पटक बोलाइएको साधारणसभामा भने ३३ प्रतिशत सदस्यको उपस्थिति भएमा सभा सञ्चालन गर्न सकिने प्रावधान रहेको छ। सोही कानुनी व्यवस्थाअनुसार आजको साधारणसभा सञ्चालन गरिएको हो।
आयोजनाका पदाधिकारीका अनुसार साधारणसभामा सदस्यहरूको सहभागिता अपेक्षाअनुसार हुन नसकेको भए पनि आवश्यक गणपुरक संख्या पूरा हुने विश्वास गरिएको छ। सभामा आर्थिक वर्षभरि सम्पन्न भएका गतिविधिको समीक्षा, आय–व्यय विवरण प्रस्तुत, लेखापरीक्षण प्रतिवेदन अनुमोदन, आगामी कार्ययोजना तथा बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ।
खलंगा सहलगानी खानेपानी आयोजना जाजरकोट सदरमुकाम खलंगामा व्यवस्थित रूपमा खानेपानी सेवा सञ्चालन गर्दै आएको महत्वपूर्ण सामुदायिक आयोजना हो। सदरमुकामका अधिकांश घरधुरी, सरकारी कार्यालय, शैक्षिक संस्था तथा व्यवसायिक प्रतिष्ठानमा नियमित रूपमा खानेपानी आपूर्ति गर्ने जिम्मेवारी यस आयोजनाले निर्वाह गर्दै आएको छ।
स्थानीय बासिन्दाका लागि अत्यावश्यक सेवाका रूपमा रहेको आयोजनाको प्रभावकारी व्यवस्थापन, सेवा विस्तार, वितरण प्रणालीको सुधार तथा स्रोत संरक्षणका विषय साधारणसभाका प्रमुख एजेन्डा हुने अपेक्षा गरिएको छ। पछिल्लो समय बढ्दो जनघनत्वसँगै खानेपानीको माग पनि बढ्दै गएको अवस्थामा आयोजनाले दीर्घकालीन योजना तयार गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल हुने जनाइएको छ।
साधारणसभा संस्थाको वार्षिक समीक्षा गर्ने, आर्थिक पारदर्शिता कायम गर्ने तथा उपभोक्ताको सुझाव र गुनासो संकलन गर्ने महत्वपूर्ण थलोका रूपमा समेत हेरिएको छ। त्यसैले सदस्यहरूको सक्रिय सहभागिताले संस्थाको सुशासन, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
यद्यपि, आजको सभामा समेत अपेक्षाकृत न्यून सहभागिता देखिएको भन्दै समितिले आगामी दिनमा सदस्यहरूलाई संस्थागत गतिविधिमा थप सक्रिय बनाउन आवश्यक रहेको जनाएको छ। उपभोक्ताको सहभागिता बढाउन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा संस्थाप्रति अपनत्व बढाउने योजनाबारे पनि छलफल भइरहेको समितिको भनाइ छ।
साधारणसभाबाट पारित हुने निर्णयहरूले आगामी वर्षको सेवा सञ्चालन, पूर्वाधार सुधार, वित्तीय व्यवस्थापन तथा उपभोक्तामैत्री कार्यक्रम कार्यान्वयनमा मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ।
निर्वाचन समितिका संयोजक राजेन्द्र विक्रम शाहले समितिको विधान अनुशार आज साधारण सभा सम्पन हुने वताउनु भयो ।
अध्यक्षमा किरण भण्डारीको चाहाना रहेको र अन्य समितिमा पदाधिकारीमा केहि पुरानै अनुहार दोरिन चाहेको देखिएको छ । अधिकांशले सवै टोलवाट मान्छे नछुट्ने गरी समिति बनाउन सुझाव दिएका छन् ।
निवर्तमान अध्यक्ष बसन्त प्रसाद शर्माले सहमतीमा समिति बनउाने प्रयास भई रहेको जानकारी दिनु भयो ।
