Oda khabar
ट्रेण्डिङ

जाजरकोट, — जाजरकोटको भेरी नगरपालिका–१ पिपेस्थित बागेश्वरी आधारभूत विद्यालयमा विपद् प्रतिकार्य, उद्धार नमुना अभ्यास तथा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटको आयोजनामा तथा युवा जागरण विकास केन्द्र (यार्सन नेपाल) जाजरकोट, कारितास नेपाल जाजरकोट र नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखाको साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको हो।
भेरी नगरपालिका–१ का वडा अध्यक्ष दीपक रानाको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक बुद्धिसागर पुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी र स्थानीय सर्वसाधारण गरी करिब १५२ जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा भूकम्पका बेला अपनाउनुपर्ने सुरक्षित उपाय, CPR (कार्डियो पल्मोनरी रिससिटेसन) सम्बन्धी नमुना अभ्यास, प्राथमिक उपचार, ग्यास सिलिण्डरबाट हुन सक्ने आगलागी नियन्त्रणका लागि Smothering विधिको प्रयोगात्मक प्रदर्शन तथा विपद् व्यवस्थापन र उद्धारमा प्रयोग हुने सामग्रीबारे जानकारी प्रदान गरिएको थियो।
त्यसैगरी स्थानीय स्रोत–साधनको प्रयोग गरी आपतकालीन अवस्थामा स्ट्रेचर निर्माण तथा प्रयोग गर्ने अभ्यास गराइएको थियो। कार्यक्रममा जंगली विषालु च्याउ सेवनबाट हुन सक्ने जोखिम र त्यसबाट बच्ने उपायबारे पनि सहभागीलाई जानकारी गराउँदै सचेत बनाइएको थियो।
विपद्को समयमा अपनाउनुपर्ने सावधानी, उद्धार तथा प्रतिकार्य क्षमताको विकास गर्नुका साथै समुदायस्तरमा विपद् सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
युवा जागरण विकास केन्द्र (यार्सन नेपाल) जाजरकोटका कार्यक्रम संयोजक सहदेव बस्नेतले समुदायमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, जनचेतना र सरोकारवाला निकायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिए।
कार्यक्रममा सहभागीहरूले यस्ता व्यवहारिक अभ्यासले विपद्को अवस्थामा आफू, परिवार तथा समुदायको सुरक्षा सुनिश्चित गर्न आवश्यक ज्ञान र सीप विकास गर्न महत्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय